Suvadin, Home
 कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतले २०५७ वैशाख १९ को फैसलाबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका कास्की जिल्ला सिद्ध गाविस वडा नम्बर ७ का ४३ वर्षीय  नारायण अधिकारीलाई  प्रहरीले साउदी अरबबाट पक्राउ गरी केन्द्रीय काराघारमा चलान गरेको छ। 
नारायण अधिकारी।

काठमाडौं, फागुन १ - कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतले २०५७ वैशाख १९ को फैसलाबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका कास्की जिल्ला सिद्ध गाविस वडा नम्बर ७ का ४३ वर्षीय  नारायण अधिकारीलाई  प्रहरीले साउदी अरबबाट पक्राउ गरी केन्द्रीय काराघारमा चलान गरेको छ। 

शनिबार पक्राउ परेका अधिकारी आइतबार केन्द्रीय कारागार चलान भएका हुन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। 

श्री सिंहनाथ गण चारआली ब्यारेक झापामा सेनाको सिपाही पदमा कार्यरत नारायण अधिकारीलाई हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो। वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका अधिकारीलाई १८ वर्षपछि ब्युरोले पक्राउ गरेको प्रवक्ता एसपी मीरा चौधरीले बताइन्। 

उनका अनुसार अधिकारीलाई पक्राउ गर्न २०७३ जेठ २४ मा पक्राउका लागि रेडकर्नर नोटिस जारी गरिएको थियो। साउदी अरब प्रहरीको सहयोगमा साउदी अरबबाटै अधिकारीलाई  पक्राउ गरिएको चौधरीले बताइन्। 

सीतादेवी थापाको जाहेरीले कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतले अधिकारीलाई जन्मकैद फैसला भएको थियो। सेनाको हिरासतमा रहेका बखत मिति ०५६ साल चैत्र २७ गते रातिदेखि उनी फरार थिए। नाम परिवर्तन गरेर जीवनबहादुर अधिकारीको नाममा २०६८ साल असार १४ मा दोहोरो नागरिकता र राहदानी विभाग काठमाडौंबाट २०६८ असार ३१ गते राहदानी लिई उनी साउदी अरब गएका थिए। 

अधिकारीले २०५५ साल कात्तिक ११ गते जिल्ला कास्की सिद्ध गाविस वडा नम्बर ७ बस्ने शिवराज थापाले गाउँ नजिकैको वनमा घाँस दाउरा लिन गएको बेला आफ्नी श्रीमती इन्दिरा अधिकारीलाई अभद्र व्यवहार गरेको भन्दै कात्तिक १५ गते बिहान बिद्री खोला भन्ने ठाउँमा उनलाई खुर्पा प्रहार गरी हत्या गरेका थिए। 
 


 

More form the Internet

loading...