Suvadin, Home

सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’ 

काठमाडौं । ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । 

मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको  बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ । 

काठमाडौँ महानगरपालिका-२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भइआएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विष्णुमती करिडोर निर्माणका लागि बसपार्कले झण्डै १० रोपनी जग्गा उपलब्ध गराएको छ । 

विस २०५६ सालमा काठमाडौँ महानगरपालिकाका प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक-निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्क स्थल निर्माण गरिएको छ । 

ल्होत्से बहुउद्देश्यीय प्रालिबाट सञ्चालनमा रहेको बसपार्कभित्र हाल पेट्रोल पम्प, टिकट काउन्टर, ग्यारेज, खाजा घर, कान्तिपुर मल, नवनिर्मित ल्होत्से मल, ट्राफिक प्रहरी वृत्त र महानगरीय प्रहरी प्रभाग गोँगबु रहेका छन् । सुविधासम्पन्न सपिङ मलको रुपमा निर्माण सम्पन्न हुन लागेको ल्होत्से मल साततलाको हो । 

प्रालीका अध्यक्ष दीपक कुँवर पछिल्लो समय नयाँ बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै लगिएको बताउछन् । “बसपार्कभित्र अवैध रुपमा सञ्चालनमा रहेका घरटहरालाई हटाएर व्यवस्थित रुपमा सञ्चालन गर्न खोजेका छौँ,” उनले भने । 

ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि झण्डै ३५ मजदूर दैनिक रुपमा खटिन्छन् । ल्होत्से बहुउदेश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र पनि स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्ने गर्छ । बसपार्कभित्र निर्माण गरिएका बगैँचाले यात्रुहरुलाई शीतलता दिन थालेको छ । 

यस्तै, नयाँ बसपार्कभित्र अपाङ्गमैत्री शौचालय समेत निर्माण भएको छ । ल्होत्से प्रालिको रु २५ लाखको लगानीमा निर्माण भएको उक्त शौचालयभित्र ह्वीलचियर समेत लैजान मिल्छ । 
विसं २१०२ सम्म सञ्चालन गर्न पाउने गरी सम्झौता भएको बसपार्कमा  एक हजारको हारहारीमा सवारी साधन पार्किङ गर्न मिल्छ । बसपार्कमा चाँडै नै ई–टिकेटिङको व्यवस्था गर्न लागिएको छ । ल्होत्सेले हाल काठमाडौँ महानगरपालिकालाई रु एक करोडभन्दा बढी वार्षिक रुपमा राजश्व तिर्दै आएको छ । 

ल्होत्सेले विसं २०५६ मा काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालनको जिम्मा लिँदा प्रतिवर्ष रु ५२ लाख राजश्व तिरेको थियो । उक्त राजश्व वार्षिक रुपमा वृद्धि हुँदै विस २१०२ सम्म पुग्दा झण्डै रु चार करोड ६४ लाख पुग्नेछ । ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । 

नयाँ बसपार्कबाट अहिले पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत गर्ने गरेको प्रालिका महाप्रबन्धक सुनिल कुवँर बताउछन् । 
पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको समेत व्यवस्था मिलाएको छ । 

नेपाल यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला नयाँ बसपार्क पछिल्लो समय बस पार्किङका लागि साँघुरो हुँदै गएको बताउछन् । “काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधन नयाँ बसपार्कमा ल्याउने हो भने साँघुरो हुन्छ, सरकारले नयाँ बसपार्कको खोजी गर्नुपर्छ,” उनले भने ।

हाल नयाँ बसपार्कबाहेक गोँगबु, पुरानो बसपार्क, गौशाला, कलङ्की, कोटेश्वर र सोह्रखुट्टेबाट सवारी साधन विभिन्न जिल्लामा छुट्ने गरेका छन् । पछिल्लो समय आर्थिक गतिविधिको एक मुख्य थलोको रुपमा नयाँ बसपार्क सञ्चालन हुँदै आएको छ । नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् । 

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौँ महानगरपालिकालाई धेरै राजश्व सङ्कलन हुने गरेको बताउनुहुन्छ । नयाँ बसपार्क र ठमेलको केही भाग पर्ने काठमाडौँ महानगरपालिका–२६ बाट आर्थिक वर्ष २०७५-०७६ मा रु १६ करोड राजश्व सङ्कलन भयो ।

नयाँ बसपार्क क्षेत्रमा टोखा नगरपालिकाको वडा नं ९ पर्दछ । टोखा नगरपालिका-९ का अध्यक्ष जोगप्रसाद नेपालका अनुसार यस बसपार्कबाट आव २०७५-७६ मा दुई करोड २२ लाख राजश्व उठ्यो । 


 

More form the Internet

loading...