Suvadin, Home

सुन्दर सुदूूरपश्चिम शृंखला-१
प्रकृतिले विशिष्ठ घोडाघोडी

विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको बासस्थानको रुपमा यो क्षेत्र चिनिन्छ। पूर्व-पश्चिम राजमार्गसँग जोडिएको यस क्षेत्रको मुख्य आकर्षण घोडाघोडी ताल हो। तालको मनोरम दृश्य, ढुंगा सयर, धार्मिक क्षेत्र, बनभोज स्थल, शैक्षिक भम्रण आदि प्रयोजकका लागि आन्तरिक र बाह्य पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन्। 
कैलालीकाे मध्यवर्ती क्षेत्रमा अवस्थित घाेडाघाेडी ताल।

काठमाडौं, वैशाख ७ – प्राकृतिक र धार्मिक मूल्य मान्यता बोकेको घोडाघोडी ताल सुदूरपश्मिको मात्रै नभएर देशकै एक महत्वपूर्ण सम्पदाको रुपमा परिचित छ। कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रस्थित घोडाघोडी नगरपालिकामा अवस्थित यो क्षेत्र सन् २००३ अगष्ट १३ गते विश्व रामसार सूचीमा सूचीकृत भएको थियो। 

विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको बासस्थानको रुपमा यो क्षेत्र चिनिन्छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस क्षेत्रको मुख्य आकर्षण घोडाघोडी ताल हो। तालको मनोरम दृश्य, ढुंगा सयर, धार्मिक क्षेत्र, बनभोज स्थल, शैक्षिक भम्रणलगायत प्रयोजकका लागि आन्तरिक र बाह्य पर्यटकहरू यस क्षेत्रमा पुग्ने गर्छन्। 

यस क्षेत्रमा रहेको शिवालय लगायतका धार्मिक मठमन्दिरमा माघे सङ्क्रान्ति तथा शिवरात्रीका दिन विशेष पूजाआजा हुनुका साथै मेला लाग्ने गरेको छ। ती चाडपर्वमा तालको पानीले स्नान गर्दा पाप पखालिने जनविश्वास रहँदै आएको छ।

हत्केला आकारमा करिब १ सय ३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल ४ मिटरसम्म गहिरो छ। ताल वरपरको संरक्षित भू–भाग भने झन्डै दुई हजार ५ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। 

कैलालीको सदरमुकाम धनगढीबाट ६० किलोमिटर पूर्वमा र सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानीबाट ३५ किलोमिटर पश्चिममा अवस्थित यस ताल धनगढी विमानस्थलबाट ५५ किलोमिटर टाढा छ। 
घोडाघोडी ताल वरपर थारु जातिका मानिसको बाहुल्यता छ। थारु समुदायको बोलीचालीमा स्त्रीलिङ्गीलाई पहिले उच्चारण गर्ने परम्परा भएकाले यस समुदायले यस ताललाई घोडाघोडीको सट्टा घोडीघोडा भन्ने गरेको स्थानीय अगुवा कृष्णदास चौधरी बताउँछन्। यस तालको असली नाम पनि घोडीघोडा नै भएको तर पछि अप्रभंश भएर घोडाघोडी भन्न थालिएको उनको दाबी छ। 

यो ताल कसरी बन्यो भन्नेमा विभिन्न किंवदन्ती रहेको पाइन्छ। तर, प्रायःले प्राचीनकालमा यस क्षेत्रमा मानव बस्ती रहेको तर पछि निरन्तर परेको घनघोर मुसलधारे वर्षाले सुन्दरगाउँ पानीको जलाशयमा डुबेको प्रसंगमा बढी विश्वास गर्छन्। कसैकसैले पानीको जलाशयमा घोडा र घोडीमा चढेका राजारानी डुबेको भएकाले यस तालको नाम घोडाघोडी रहेको बताउँछन्। 

घोडाघोडी ताल क्षेत्रमा साना ठूला गरी अन्य १९ वटा ताल रहेका छन्। सबै ताल एकअर्कासँग जोडिएका छन्। ताल एकअर्कासँग जोडिएकोले यसको नक्सा हातको पञ्जाजस्तै देखिन्छ। घोडाघोडी ताल क्षेत्रमा ५२ प्रतिशत वन, ३४ दशमलव ५ प्रतिशत खेतीयोग्य जमिन, ६ प्रतिशत ताल, २ प्रतिशत घाँसे मैदान, १ दशमलव ६ प्रतिशत नदी र बलौटे जमिन, ३ प्रतिशत हैसियत बिग्रेको वन तथा शून्य दशमलव ५ प्रतिशत पूर्वपश्चिम राजमार्गले ओगटेको जिल्ला वन कार्यालय कैलालीको तथ्यांकमा उल्लेख छ। 

यो ताल क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्यता, विभिन्न चराचुरुङ्गी र जलचर प्राणीको बासस्थानका रुपमा पनि रहेको छ। दुर्लभ, अति सम्वेदनशील, संकटापन्न वा खतरापूर्ण जीव प्रजातिसहितको सिमसार संरचना भएकै कारण यो रामसार सूचीमा सूचीकृत भएको स्थानीय बताउँछन्। 

‘यस क्षेत्रमा अति संकटापन्न रातो टाउके कछुवा पाइन्छ,’ स्थानीय अगुवा चौधरीले भने, ‘संकटापन्न पाटे बाघ र जंगली कुकुर, लोप हुँदै गएको मगर गोही, हरी हाँस र जंगली धान पनि देखिने गरेको छ।’ ताल क्षेत्रमा १ सय ४० प्रजातिका चरा, २९ प्रजातिका माछा, ४ सय ५० प्रजातिका बोटबिरुवा र ९ प्रजातिका उभयचर प्राणी रहेको जिल्ला वनस्पति कार्यालयको तथ्यांकमा उल्लेख छ। 

घोडाघोडी क्षेत्र घुमन्ते प्रजातिका चराचुरुङ्गीको गन्तव्य स्थानका रुपमा पनि परिचित छ। पंक्षीविद् हेमसागर बरालका अनुसार कुनै प्रजातिका चरा बाहै्र महिना यसै ठाउँमा बसोबास गर्छन्, जसलाई यहाँका रैथाने प्रजातिका चरा भनिन्छ। कतिपय चरा भने बाहिरबाट आउने गर्छन्। चराचुरुङ्गीको बासस्थानका हिसाबले घोडाघोडी क्षेत्र नेपालको अहिलेसम्मकै उपयुक्त स्थान मानिएको पोखराको बेगनास तालभन्दा पनि अगाडि रहेको बरालको दाबी छ।

घोडाघोडी ताल क्षेत्रको छुट्टै धार्मिक महत्व पनि छ। तालको किनारमा पूर्वपश्चिम राजमार्गसँगै घोडाघोडी बाबाको मन्दिर छ। जहाँ हरेक दिन दर्शनार्थीहरूको ठूलो भीड लाग्ने गरेको छ। विशेष गरेर घोडाघोडी मन्दिरमा थारु समुदायले वर्षभरि नै पटकपटक पूजाआजा गर्ने गर्छन्। अन्य समुदायका मानिसहरुको पनि घोडाघोडी मन्दिरप्रति धार्मिक आस्था छ। मन्दिरमा विवाह र ब्रतबन्ध लगायतका कार्य हुने गर्दछन्। 

घोडाघोडी क्षेत्र प्रवर्द्धन र संरक्षणका लागि विभिन्न संघ–संस्था क्रियाशिल रहेको भए पनि पछिल्लो समय घोडाघोडी क्षेत्र मानव अतिक्रमणको चपेटामा पर्न थालेको छ। सुदूरपश्चिमको तराई जिल्ला भएकाले पहाडी क्षेत्रबाट बसाइँ सर्ने क्रम तीब्र भएसँगै यस जिल्लाको जनघनत्व बढ्दो छ। यस क्षेत्रमा बढेको अनधिकृत बसोबासले करिब चार सय हेक्टर वन क्षेत्र आवादीमा परिणत भइसकेको स्थानीय बताउँछन्।

भूक्षयका कारण वर्षातमा बगेर आउने माटो, ढुंगासहितको पानीले ताल पुरिने खतरा बढ्दै गइरहेको छ। जलकुम्भी, बेसरम लगायतका विभिन्न किसिमका मिचाहा वनस्पतिको बढ्दो अतिक्रमणले पनि ताल क्षेत्र साँघुरिँदै गएकोमा स्थानीय चिन्तित छन्। माछा, पानी हाँस, जलचर तथा जंगली जनावरको चोरी सिकारी पनि यस क्षेत्रले खेप्दै गरेको अर्को चुनौती हो। ताल क्षेत्र वरपर बढेको मानवबस्तीका कारण जंगलबाट साल, खयर र महत्वपूर्ण वनस्पति मासिँदै गएका छन्। 


 

More form the Internet

loading...