Suvadin, Home

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ। अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास भवन, पार्किङग, फूलबारीलगायतका संरचना निर्माण गरिने छ । 
भरतपुर अस्पताल।

चितवन, ६ जेठ - यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ। 

अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार १४ बिगाहा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास भवन, पार्किङग, फूलबारीलगायतका संरचना निर्माण गरिने छ । 

शुद्ध खानेपानीको सुविधा हुने छ, भने अस्पताल आफैँले अक्सिजन प्लान्ट निर्माण गर्ने छ। फोहोर व्यवस्थापनका लागि विशेष योजना अगाडि सारिएको छ। रु ६ अर्ब ५४ करोडको लागतमा गुरुयोजना अनुरुपको काम सम्पन्न गर्न सकिने अध्यक्ष राजभण्डारीले बताए। 

हाल अस्पतालको दुईवटा भवन निर्माण भइसकेका छन्। यसअघि अस्पतालका पूर्व अध्यक्ष स्व नरबहादुर खाँडले गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने भन्दै सोहीअनुरुप भवन निर्माणको कार्य अघि बढेको थियो। यद्यपि मन्त्रालयबाट स्वीकृति गराइएको थिएन। सो पश्चात अस्पतालमा निर्माण गरिएका संरचना दीर्घकालीन काम गर्ने खालका रहेका छन्। 

गुरुयोजना सम्बन्धित मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ। अस्पतालको भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गर्ने प्रस्ताव गरिएको छ। 

अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घ संस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहा मात्र बाँकी रहेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले उपयोग गर्दै आएको तीन बिगाहा १० कठ्ठा जग्गा समेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले जानकारी दिए। 

सरकारले बजेट दिन सकेमा पाँच वर्षभित्रमा गुरुयोजनाअनुरुपको काम हुनसक्ने मरासिनिले बताउनुभयो । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। गत आर्थिक वर्षमा एक लाख ५३ हजार बिरामीले बहिरङ्ग सेवा लिएका थिए।

राजधानी बाहिर ठूलो सङ्ख्यामा बिरामीलाई सेवा दिने अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिइन्छ। अस्पतालमा हाल तीन सय श्यया सरकारी र तीन सय श्यया अस्पताल विकास समितिको स्रोतमा सञ्चालनमा रहेको छ। यद्यपि बिरामीको चाप उच्च भएकाले भूइँमा सुतेर उपचार लिन बाध्य छन्। 

शिक्षण अस्पतालको रुपमा विकास गर्न सकेमा न्यून शुल्कमा विद्यार्थीले एमविविएस सहित अन्य स्वास्थ्य शिक्षा पढ्न पाउने छन् । हाल अस्पतालमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ् कार्यक्रम सञ्चालनमा रहेको छ। रासस 


 

More form the Internet

loading...