तेइस लाख जनतालाई सामाजिक सुरक्षा भत्ता
काठमाडौं, पुस १९
केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३/०७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाति, अपाङ्गता भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई सामाजिक भत्ता दिन लागेको हो।
जसमा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई भत्ता रु एक हजार र औषधि उपचारका लागि एक हजार गरी मासिक दुई हजार दिने छ। दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जातिलाई मासिक रु एक हजार दिइनेछ ।
यस्तै अपाङ्गता भएका व्यक्तिको हकमा पूर्ण अपाङ्ग (रातो कार्ड) प्राप्त गरेकालाई रु दुई हजार र अति अशक्त (निलो कार्ड) प्राप्त गरेकालाई ६ सय रूपैयाँ दिइनेछ । यसैगरी, दलित र कर्णाली अञ्चलका पाँच वर्ष उमेर नपुगेका बालबालिकालाई मासिक ४ सय दिइनेछ ।
विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले विभागले सामाजिक सुरक्षा भत्ताका लागि ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार रकम छुट्याएको जानकारी दिए। रासस