Suvadin, Home

भीमदत्तको तिलाचौरमा फोहर व्यवस्थापनका लागि छलफल

भीमदत्त नगरपालिकाले एकीकृत सहरी विकास कार्यक्रम अन्तरगत भीनपा वडा नं. ८ मा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान प्रस्ताव गरेको छ।

महेन्द्रनगर, २ मंसिर – भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा फोहरमैला व्यवस्थापनका लागि स्थानीयसित छलफल गरिएको छ।

तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा गरिएको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशिला महर्जन स्थानीय सहभागी भएका छन्। कार्यक्रममा धनकुटा, नेपालगञ्ज, हेटौडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको अवलोकन भ्रमणमा सहभागी स्थानीयले आफ्नो अनुभव सुनाए।

उनीहरुले अवलोलनका क्रममा देखिएका फोहर व्यवस्थापनको विधिले वातावरणलाई असर नपार्ने र स्थानीयलाई रोजगारी सहित विकासका अवसर आउनेमा जोड दिए। अवलोकलन भ्रमणमा सहभागी वडा नं. ८ का पूर्व अध्यक्ष कृष्ण बहादुर सिंहले फोहर व्यवस्थापन नगरपालिका क्षेत्रका लागि चुनौतीपूर्ण भएकाले व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने बताए।

भीमदत्त नगरपालिकाले एकीकृत सहरी विकास कार्यक्रम अन्तरगत भीनपा वडा नं. ८ मा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान प्रस्ताव गरेको छ। स्थानीय तह निर्वाचन अघि भीमदत्त नगरपालिकाको तत्कालिन राजनीतिक दलको संयन्त्रले वडा नं. ८ मा स्थान छनोट गरेपछि सहरी विकास आयोजनाको सम्झौता गरिएको थियो।

नगरपालिकाको तत्कालिन सर्वदलीय संयन्त्रका सदस्य नेृकपाका नेता कर्ण बहादुर चन्दले सबै दलको सहमतिमा वडा नं. ८ मा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि स्थान छनोट गरिएको बताए।  ‘भीमदत्तमा वर्षौदेखि फोहरको समस्या थियो, त्यसको व्यवस्थापनका लागि राजनीतिक दलको सहमतिमा स्थान छनौट गरिएको हो, त्यसका लागि स्थानीय स्तरमा छलफल पनि गरिएको छ,’ उनले भने,‘फेरि छलफल गरी यसलाई निष्कर्शमा पुगाउन आवश्यक छ।’

तत्कालिन सर्वदलीय संयन्त्रमा नेकपा चन्द सहित नेकपाकै लोकराज जोशी, नेपाली कांग्रेसका नगर सभापति पदमराज अवस्थी, राप्रपाका दिल बहादुर नाथ सदस्य थिए। तिलौचारको कार्यक्रममा सहभागी केही स्थानीयले नगरपालिकाले बजारको फोहर ल्याएर डम्पिङ्ग साइड बनाउन लागेको भन्दै असन्तुष्टि जनाए। एकीकृत सहरी विकास कार्यक्रमका सामाजिक विकास अधिकृत गोमा अवस्थीले स्थानीय स्तरमा डम्पिङ्ग साइड भनेर गलत प्रचार गरिएको र प्रशोधन केन्द्रका रुपमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको बताए।

‘बजारको फोहर त्यहाँ लगेर फाल्न लागेको होइन्, गलत रुपमा प्रचार गरिएको छ, सामाजिक विकास अधिकृत अवस्थीले भनिन्,‘त्यहाँ त फोहरको २० प्रतिशत मात्रै जाने हो, त्यसलाई प्रशोधन केन्द्रका रुपमा विकास गर्न खोजिएको हो।’ कार्यक्रममा एकीकृत सहरी विकास कार्यक्रमका अवस्थी सहित वातावरण अधिकृत पदमराज जोशी र इन्जिनियर आशा बोहरा सहभागी भए। वातावरण विकास अधिकृत जोशीले सहरी विकास कार्यक्रम अन्तरगत सञ्चालित कार्यक्रम सम्बन्धी जानकारी गराए।

एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले नगरपालिकालाई उपलब्ध गराएको अनुदानमा एकीकृृत सहरी विकास कार्यक्रम सञ्चालन गरिएको छ। यो कार्यक्रम सुदूरपश्चिम प्रदेशका भीमदत्त नगरपालिका सहित शुक्लाफाँटा नगरपालिका, गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिकामा सञ्चालन गरिएको छ।

भीमदत्त नगरपापलिकाका एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र सहित ३८ किलोमिटर पक्की सडक, फोहर पानी प्रशोधन केन्द्र लगायतका संरचना निर्माण गरिने भएका छन्। कार्यक्रममा वडा अध्यक्ष ध्वज बहादुर विष्टले फोहर व्यवस्थापनका लागि सबै स्थानीयसित छलफल गरिने बताए। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यस अघि नगरपालिका कार्यालयमा राजनीतिक दलका नेता सहित साँसद, पूर्व साँसद, नागरिक समाजसित छलफल कार्यक्रम गरेका थिए।


 

More form the Internet

loading...