Suvadin, Home

२ दशकपछि बिम्स्टेकको पहिलो शिखर सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

सम्मेलनका लागि नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्त बुद्धको जन्मस्थल लुम्बिनी पुगेर दर्शन तथा पूजा गरेका थिए। यसले लुम्बिनी र बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा अभिवृद्धि भएको पाइएको छ। बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्का ७५ र थाइल्याण्डमा ९० प्रतिशत बौद्ध धर्मावलम्बी छन्।
बिम्स्टेकको चौथो शिखर सम्मेलन।

काठमाडौं, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ। 

सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गरेका थिए। 

आफ्नो सम्बोधनका क्रममा नेपालको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० मा बिम्स्टेकको सदस्य राष्ट्रका बीचमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने जानकारी दिएर बुद्धत्वको महत्वबारे जोड दिए।

उनले भारतको नलान्दा विश्वविद्यालयलाई बिम्स्टेक राष्ट्रका भाषा संस्कृति अध्ययन केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरी यस क्षेत्रमा बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका लागि प्राथमिकता दिए। उक्त विश्वविद्यालय बौद्ध साहित्य र दर्शनका लागि अध्ययन हुने प्राचीन संस्था मानिन्छ। 

सम्मेलनका लागि नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्त बुद्धको जन्मस्थल लुम्बिनी पुगेर दर्शन तथा पूजा गरेका थिए। यसले लुम्बिनी र बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा अभिवृद्धि भएको पाइएको छ। बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्का ७५ र थाइल्याण्डमा ९० प्रतिशत बौद्ध धर्मावलम्बी छन्। 

म्यान्माका विदेशमन्त्री आङ साङ सुकीकी बौद्ध गुरुआमा काठमाडौँको नघलस्थित श्रीघ विहारका प्रमुख धम्मावती गुरुआमा छिन्, जसलाई सुकीले सन् २०१४ मा नेपाल भ्रमणका बेला भेट गरेकी थिइन्। सोही समयमा उनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी थिइन्।

सम्मेलनकै अवसरमा श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा यही भदौ १६ गते जानेछन्। त्यस्तै उनी काठमाडौंको चावहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ दर्शनका लागि भदौ १७ गते जाने भएपछि त्यहाँ सरसफाइ र तयारी गरिएको छ।

चारुमती बुद्धिष्ट मिशन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मका अनुसार श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई सम्मानसहित चैत्यको प्रतिमा उपहार प्रदान गर्ने कार्यक्रम तय भएको छ। सम्राट अशोकले आफ्ना छोरा महेन्द्रलाई श्रीलंका र छोरी चारुमतीलाई बौद्धधर्मको प्रचारका लागि धर्मदूतका रुपमा नेपाल पठाएको इतिहास पाइन्छ।

राष्ट्रपति सिरिसेनालाई स्वयम्भूस्थित आनन्दकुटी विहारमा श्रीलंका सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको विहारको निरीक्षण तथा पूजाका लागि भ्रमण तयारी गरिएको विहारले जनाएको छ। 

सम्मेलनका लागि सरकारले तयार गरेको केही भनाइमध्ये ‘बुद्धजन्मभूमि नेपालमा हार्दिक स्वागत छ’ भन्ने पनि छ। यस्तै ‘सगरमाथाको देश नेपालमा स्वागत छ’ भन्ने भनाइ पनि सम्मेलनका लागि तय भएको छ। यसरी नेपालले सम्मेलनको नारामा नै धार्मिक–भौगोलिक पर्यटन प्रवर्द्धन गर्ने ध्येय राखेको छ। 

काठमाडौं । स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको शिखर सम्मेलन आयोजनाको अवसर पाएको छ। 

शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रममा नेपाल सरकार एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार व्यक्त गरे। 

सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सम्मेलनमा सहभागी विशिष्ट पाहुना यो शिखर सम्मेलनमा पहिलो पटक सहभागी भएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो लागि बिम्स्टेक शिखर सम्मेलन पहिलो भएको भन्दै यसलाई सदुपयोग गर्ने क्रममा सदस्य राष्ट्रका महिला सांसद र युवाका अलगअलग सम्मेलन गर्नेलगायत नयाँ कार्यसूची प्रस्ताव गरे।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा वर्तमान सरकारले छोटो अवधिको तयारीका बीच काठमाडौंमा यसप्रकारको पहिलो क्षेत्रीय सम्मेलनको आयोजना गरेको हो। 

सम्मेलनको उद्घटनअघि बुद्धको जन्मस्थल नेपालको राष्ट्राध्यक्षका हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा संयुक्त भेटवार्तासहित दिवाभोजको आयोजना गरी विशिष्ट अतिथिहरुप्रति हार्दिकता दर्शाएकी छिन्।

सन् १९९८ देखि नेपाल यसको आमन्त्रित र सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा भएको छैटौँ मन्त्रिस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए। यसअघि सहकार्य, सहिष्णुता र समृद्धिको मूल नारासहित म्यान्माको राजधानी नेपिटमा सन् २०१४ को मार्चमा बिम्स्टेकको तेस्रो शिखर सम्मेलन भएको थियो। बिम्स्टेकको अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ। 

सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा बिम्स्टेकको नामबाट बंगलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड सदस्य राष्ट्रबीच यो क्षेत्रीय सञ्जाल गठन भएको थियो। सन् १९९७ डिसेम्बर २२ को मन्त्रिस्तरीय बैठकबाट म्यान्मा यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो। यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ। 

यसअघि सन् २००४ जुलाई ३१ मा थाइल्याण्डको बैंकक, २००८ को १३ नोभेम्बरमा भारतको नयाँदिल्ली र २०१४ को मार्च ४ मा म्यान्माको नेपिटमा बिम्स्टेक शिखर सम्मेलन भएको थियो। सन् २०१६ मा भारतको गोवामा बिम्स्टेकको आउटरिच सम्मेलन सम्पन्न भएको थियो। 

बिम्स्टेकका मुख्य १४ उद्देश्य र कार्यसूचीमा वाणिज्य, लगानी, प्रविधि, पर्यटन, मानवीय स्रोत विकास, कृषि, मत्स्यपालन, यातायात र सञ्चार, कपडा र छालाजन्य उद्योग आदि छन्। यसले शिक्षा, प्राविधिक व्यावसायिक क्षेत्रमा तालीमकाका साथै आर्थिक, सामाजिक प्राविधिक र वैज्ञानिक क्षेत्र र साझा स्वार्थका विषयमा सहकार्य गर्नेछ। 

बिम्स्टेक मुलुकमा करीब एक अरब ६० करोड जनसङ्ख्या छन् विश्व भू–भागको २२ प्रतिशत हिस्सा यसले ओगट्छ। यस क्षेत्रको सरदर आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत छ। 

यसले दक्षिण र दक्षिण पूर्वी मुलुकबीच पुलको काम गर्नेछ। यो सार्क र आसियान जस्ता क्षेत्रीय संयन्त्रका लागि पनि अन्तर्राष्ट्रिय सहकार्य मानिन्छ। सार्कमा सदस्य रहेका अधिकांश सदस्य बिम्स्टेकमा भएकाले सार्क र यसको कामको दोहोरोपना वा कुनै एक संयन्त्र सक्रिय भएमा अर्को निष्क्रिय हुन सक्ने खतरा विज्ञहरुले औँल्याएका छन्। सार्कका सदस्यमध्ये पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बिम्स्टेकमा छैनन्।


 

More form the Internet

loading...