Suvadin, Home

बेथितिकाे परिणाम
छाडा चौपायाले मुख्य नाका वीरगञ्ज अस्तव्यस्त

सडक चौपायाको प्रवेशका कारण सवारी आवागमनमा कठिनाई हुने गरेको छ। केही वर्षअघि छाडा गोरुले टाउकोमा आक्रमण गर्दा वीरगञ्ज श्रीपुर निवासी आनन्द मिश्रले ज्यान गुमाउनु परेको थियो। अहिलेसम्म सयौंको संख्यामा घाइते भएका छन्। छाडा चौपायाको कारण बृद्ध, बालबालिका र महिलाहरुले बढी त्रसित हुने गरेको वीरगञ्ज पानी ट्यांकी निवासी आशा अग्रवालले गुनासो गरेकी छिन्।
वीरगञ्ज बजार।

वीरगञ्ज, चैत ३० – पर्सा सदरमुकाम वीरगञ्जमा अत्याधिक छाडा चौपायाको कारण सवारी दुर्घटनाको जोखिम बढेको छ। सडकमा छाडिएका चौपायाका कारण सर्वसाधारण त्रसित हुने गरेका छन्।

सडक चौपायाको प्रवेशका कारण सवारी आवागमनमा कठिनाई हुने गरेको छ। केही वर्षअघि छाडा गोरुले टाउकोमा आक्रमण गर्दा वीरगञ्ज श्रीपुर निवासी आनन्द मिश्रले ज्यान गुमाउनु परेको थियो।

अहिलेसम्म सयौंको संख्यामा घाइते भएका छन्। छाडा चौपायाको कारण बृद्ध, बालबालिका र महिलाहरुले बढी त्रसित हुने गरेको वीरगञ्ज पानी ट्यांकी निवासी आशा अग्रवालले गुनासो गरेकी छिन्।

बढ्दो छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै सर्वसाधारण घाइते हुने क्रम निरन्तर चलेपनि यसलाई नियन्त्रण गर्न वीरगञ्ज उपमहानगरपालिकाको कार्यालयले पहल नगरेको स्थानीयको गुनासो छ।

विगतदेखि नै स्थायी समस्याको रुपमा रहेको छाडा चौपाया नियन्त्रण गर्न श्रोत साधन सम्पन्न उपमहानगरपालिकाले योजना तर्जुमा र बजेट विनियोजन गरेको पाइँदैन। जति भने पनि सर्वसाधारणले नमानेको र चौपाया थुन्न व्यवस्थित काञ्जिहाउस नभएको जस्ता बहाना बनाएर नगरपालिका जिम्मेवारीबाट पन्छिदै आएको छ।

चौपाया नछाड्न गरेको आग्रह स्थानीयले नमान्दा समस्या आएको वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले बताएका छन्। उनले चौपाया थुन्न काञ्जिहाउस नभएकाले पनि समस्या पर्न आएको स्पष्टीकरण दिएका छन्।

ट्राफिक व्यवस्थापन गरेर सर्वसाधारणलाई आवागमनमा सहजता दिलाउनुपर्ने ट्राफिक प्रहरीले छाडा चौपाया नियन्त्रणमा पहल गरेको देखिँदैन। स्रोतसाधनको अभावमा छाडा चौपाया नियन्त्रण गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रविन्द्र भट्टले बताएका छन्।

छाडा चौपायाको कारण ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाको जोखिम त बढेकै छ। साथमा बजार कुरुप देखिँदै आएको छ। सभ्य मानिसहरुको बसोबास हुने भनिएको सहर बजारमा बग्रेल्ती डुल्ने चौपायाले बजारको नभएर अव्यवस्थित गल्लीको झल्को दिने गरेको छ।

तसर्थ समस्या समाधानको लागि उपमहानगरपालिका, नगर प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा पहल गर्न आवश्यक देखिन्छ।


 

More form the Internet

loading...