Suvadin, Home

लगालग तीन गोली हानेर विशाललार्इ सुमोभित्रै यसरी जलाइयो

अभियुक्तकाे बयानअनुसार मनकुमार, बिन्दु, मृतक खड्का र अर्का एक जना मंसिर ८ गते टाटा सुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए। त्यहीँबाट धादिङ-हेटौंडा हुँदै बर्दिवासबाट मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ लागे। रामेछापको सित्खा बजार हुँदै मझुवा-१ निगालपानीमा पुगेपछि बिहान ६ बजेतिर सुमो चालक विशाल खड्कालाई तीन राउण्ड गोली प्रहार गरी सुमोको पछाडिको सिटमा राखेर आगो लगाइएको थियो।
जलाइएको सुमो।

काठमाडौं, माघ ५


दुई महिनाअघि रामेछापको मझुवा गाविसमा एक व्यक्तिको शव भेटियो। शव टाटा सुमोभित्र जलेको अवस्थामा थियो। दुर्घटनापछि गाडी जलेका अाशंख्या गरिएकाे थियाे। तर, जब रामेछाप प्रहरीलाई शवको पोस्टमार्टम रिर्पोट आयो घटनाले नयाँ मोड लियो।

त्यो दुर्घटना नभएर षडयन्त्रसाथ गरिएको क्रुर हत्या भएको थाहा भयो। पोस्टमार्टम रिर्पोट अनुसार शवमा तीन वटा गोली लागेका थिए। त्यसबाट पहिले विशालार्इ गोली हानी हत्या गरिएको र त्यसपछि दुर्घटना भएकाे देखाउन गाडीमा राखेर जलाइएको तथ्य भेटिएको रामेछाप प्रहरी प्रमुख डिएसपी कुमोद ढुंगेलले बताएका छन्।

पोस्टमार्टम रिर्पोटपश्चात रामेछाप प्रहरी अभियुक्तकाे खोजीमा तीब्रताका साथ लागेको थियाे। दुई महिनापछि हत्यामा संलग्न दुई अभियुक्तलाई पक्राउ गर्न सफल भएको ढुंगेलले बताए।

प्रहरीले गाडीमा भेटेको शव झापा जिल्लाकाे लखनपुर घर भएका २७ वर्षीय विशाल खड्काको थियाे। रामेछापको मझुवा-१ निगालपानीमा गत मंसिर ९ गते मे१ज २१८७ नम्बरको जलेको टाटा सुमोभित्रै चालक खड्काको शव बरामद भएको थियो। घटनाको दुई महिनापछि रामेछाप प्रहरीले विशाल खड्काको हत्यामा संलग्न दुई अभियुक्त पक्राउ गरेको हो।

तेह्रथुम पौठाकका २६ वर्षीय मनकुमार लिम्बू र रसुवा सरनथलीकी १८ वर्षीया बिन्दु तामाङलाई पक्राउ गरेको ढुंगेलले बताए।

अभियुक्तकाे बयानअनुसार मनकुमार, बिन्दु, मृतक खड्का र अर्का एक जना मंसिर ८ गते टाटा सुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए। त्यहीँबाट धादिङ-हेटौंडा हुँदै बर्दिवासबाट मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ लागे।

रामेछापको सित्खा बजार हुँदै मझुवा-१ निगालपानीमा पुगेपछि बिहान ६ बजेतिर सुमो चालक विशाल खड्कालाई तीन राउण्ड गोली प्रहार गरी  सुमोको पछाडिको सिटमा राखेर आगो लगाइएको थियो।

उक्त घटनाका मुख्य योजनाकार एक जना अझै फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमुद ढुंगेलले जानकारी दिए।

पक्राउ परेका लिम्बू जनमुक्ति सेनाका पूर्वअयोग्य लडाकु भएको खुलेको छ। अारोपीहरूको साथबाट प्रहरीले जनमुक्ति सेना लेखिएको पर्चा, चार थान मोवाइल, ९ थान मोबाइलका सिमहरू समेत बरामद गरेको छ।

प्रहरी अधिकारीका अनुसार अहिलेसम्मको अनुसन्धानमा घटनामा संलग्न देखिएका तीन जनाको मृतक खड्कासँग कुनै रिसिइबी देखिएको छैन।

पक्राउ परेकी युवती र अर्का युवाबाट हत्याको कारण  खुल्न सकेको छैन। डिएसपी ढुंगेल भन्छन्, ‘फरार रहेका व्यक्त्तिको पक्राउपछि थप केही खुल्न सक्नेछ।’
फरार अभियुक्तको नाम प्रहरीले सार्वजनिक गरेको छैन।


 

More form the Internet

loading...