Suvadin, Home

Cover Image

सीमा सुरक्षाको बैठकमा सीमा अतिक्रमणको विषयमा छलफल नहुने ?

काठमाडौं ।  लामो समयदेखि बस्‍न नसकेको बुधबार (भोलि)देखि पोखरामा नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक बस्दैछ । भारतले नोभेम्बर ३ मा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि अहिले नेपालमा भारतविरुद्ध चर्को विरोध भइरहेको छ । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा समेटेको छ । 

सीमा अतिक्रमणको चर्को विरोध भइरहेको अहिलेको अवस्थामा बस्‍न नलागेको सीमा सुरक्षा समन्वय समिति बैठकमा सीमा अतिक्रमणको विषय उठाउन नपाइने भएको छ । यस विषयमा गृहमन्त्रालय स्रोतसँग बुझ्‍दा गृहमन्त्रालयले ०७१ सालमा नेपाल–भारत विदेशमन्त्री वा त्योभन्दा माथिल्लो तहबाट सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद टुंगो लगाउने सम्झौता भएकोले पोखरा बैठकमा त्यो विषय नउठ्ने बताएको छ ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सा नेपालका लागि स्वीकार्य नभएको प्रतिक्रिया दिएको छ भने भारतले पनि आफ्नो नयाँ नक्सामा नेपालको कुनै पनि भूमि नपारिएको दाबी गरे । ‘सीमा सुरक्षा जिम्मा पाएका दुवै देशका सुरक्षा निकायका प्रमुखसहितको आगामी बैठकमा अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदानलगायत विषयमा छलफल हुनेछ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘त्यहाँ नवलपरासी र दार्चुलाका सीमा अतिक्रमणको विषय प्रवेश हुँदैन ।’

नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखसहित दुवै देशका सुरक्षा अधिकारी बैठकमा सहभागी हुनेछन् । बैठकमा पेस गर्ने एजेन्डा सशस्त्र प्रहरीले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । नेपालबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रा बैठकमा सहभागी हुनेछन् ।

दुवै देशबीच बेलाबेलामा हुने सीमा विवादका कारण हरेक वर्ष आयोजना गर्नुपर्ने बैठक नियमित हुन सकेका छैनन् । ०७३ साउन २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । त्यसअघि ०६९ र ०७२ मा भारत र नेपालले क्रमशः पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । तीन वर्षअघि दिल्लीमा सम्पन्न तेस्रो बैठकले समन्वय बैठक वर्षको एकपटक, सीमा सुरक्षा गण तहमा दुईपटक र बोर्डर अब्जर्भर पोस्ट (बीओपी) तहमा हरेक महिना बैठक बस्ने निर्णय गरेको थियो । 

नेपाल र भारतबीच पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म २३ जिल्लामा करिब १ हजार ८ सय ८० किमि सीमा लम्बाइ कायम छ । नेपालतर्फ सीमा छुट्याउने ८ हजार ५ सय ५३ स्तम्भ (पिलर) मध्ये २ हजार ७ सय १६ पिलर गायब छन् । पिलर हराएका स्थानमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको बताइए पनि विवाद समाधानमा अहिलेसम्म ठोस कदम चालिएको छैन ।

भारततर्फ १ हजार ५ सय ५६ सीमास्तम्भ जीर्ण र २ हजार ८ सय ९१ स्तम्भमा सामान्य क्षति पुगे पनि त्यसको पुनर्निर्माण भएको छैन । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले भारतीय सीमा नजिकै १ सय ७ वटा बीओपी सञ्चालनमा ल्याएको छ । तर त्यसको प्रभावकारितामाथि पनि प्रश्न उठ्दै आएको छ । सशस्त्रले भारततर्फ थप ५९ बीओपी स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ ।


 

More form the Internet

loading...