Suvadin, Home

स्थानीयको अवरोधले काठमाडौं-भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ। चारमध्ये तीन वटा ठूला पुल काठमाडौं-भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो।

भक्तपुर, पुस २३


स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ। चारमध्ये तीन वटा ठूला पुल काठमाडौं-भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो।

भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पुर्याएकै कारण निर्माण सुरु हुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

कुल चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ साल पुस २४ गते सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमीका बासिन्दाबीच झडप भएको थियो।

मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ सालकै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने यसरी धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि यसमा थिमीको बासिन्दाले असहमति जनाउँदै खोला अहिले बगेकै स्थानमा पूल बनाउनु पर्ने माग गरेका थिए।

काठमाडौं-गोठाटार र भक्तपुरको थिमिका बासिन्दाबीच झडप भएपछि हालसम्म यो पुल निर्माण अलपत्र परे पनि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ। कार्यालयका प्रमुख अधिकारीले भने, ‘यस वर्ष पनि सरकारले २० लाख छुट्याएको छ, पुल निर्माणका लागि दुबै पक्षसँग पटक-पटक छलफल गर्दा पनि प्रगति हुन सकेको छैन, त्यसैले पुल निर्माण अलपत्र परेको हो।’

यता काठमाडौंको-इन्द्रायणी र भक्तपुरको चाँगुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेका छन्। २०६८ साल असार २७ गते निर्माण सम्झौता भएको उक्त पुलको निर्माण कार्य हाल ८६ प्रतिशत सम्पन्न भएपछि नदी नियन्त्रणको काममा स्थानीयले अवरोध पुर्याएपछि पुल निर्माण सम्पन्न गर्ने काम अलपत्र परेको छ।

कुल चार करोड ५५ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि स्थानीयले काम अवरोध गरेपछि काम सम्पन्न नै नगरी ठेकेदार कम्पनी लामा बिल्डर्स साल्पा शेर्पा जयबाबा गोरखा जेभीले काम छाडेर जान खोजेको कार्यालयले जनाएको छ।

त्यस्तै, भक्तपुरको चाँगुनारायण र काठमाडौंको ब्रम्हखेल जोड्ने चाँगुनारायण-ब्रम्हखेल खोला पुल निर्माण कार्य सुरू भएपछि रोकिएको छ। २०७० साउन ४ गते तीन करोड ९४ लाखमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएर काम सुरू गरेपछि खोलामा कडा ढुङ्गा निस्किएको र इन्द्रायणीतर्फका बासिन्दाले खोला क्षेत्रमा पर्ने जग्गामा पुलको जग हाल्न नदिएपछि निर्माण कार्य अलपत्र परेको छ।

कार्यालय प्रमख अधिकारीले भने, ‘काठमाडौंतर्फ जगको तीन वटा पिलर हालियो, भक्तपुरतर्फ काम गर्दा कडा ढुङ्गा आएपछि डिजाइन नै परिवर्तन गरेर काम भइरहेको छ, तर इन्द्रायणी तर्फका स्थानीयले जग्गा छोड्न नमानेपछि पुल निर्माण बाधा आएको छ।’

त्यसैगरी मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम चरणमा बाधा आएको छ। २०६९ असार २५ गते तीन करोड ९२ लाखमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर कामै नगरी सम्पर्कमा नआएको ठेकेदार कम्पनीका विरुद्ध कार्यालयले कारबाहीको सूचना जारी गरेपछि काम सुरु भएको थियो।

उक्त पुलको हाल स्ट्रक्चर निर्माण कार्य सम्पन्न भएको जानकारी दिँदै कार्यालय प्रमख अधिकारीले स्थानीय निकायले पुल र दधिकोटतर्फको सडकको सीमाङ्कन नगरिदिँदा काम सम्पन्न गर्न समस्या आएको जानकारी दिए।

यसैबीच, विभिन्न अवरोधकाबीच चाँगुनारायण-साँखु जोड्ने मनोहरा खोला पुल निर्माण सम्पन्न भएको छ। २०६६ साल असार २५ गते सम्झौता भएर पटक-पटक समय थप गर्दै निर्माण भएको सो पुल हालै निर्माण सम्पन्न भएको उनले जानकारी दिए। रासस

 


 

More form the Internet

loading...