Suvadin, Home

कुखुराको दानाको मूल्य बढ्यो

ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै बिबान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ।

–कृष्ण आचार्य 
भरतपुर, ८ पुस – कुखुराको दानाको मूल्य बढेको छ। दाना उद्योगीको काठमाडौंमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु २ रूपैयाँ ५० पैसाका दरले मूल्य बढाएको हो। 

दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए।

कुखुराको दाना बानाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ। ८० देखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ। 

“भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भने’, “सय प्रतिशत नै भटमास पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

“दानाको मूल्य बढेर किसानलाई मार पर्ने कुरा स्वभाविक हो”,पुरीले भने, “यसमा हामीले गर्नसक्ने अवस्था केही छैन्, सरकार नै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ। 

ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै बिबान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ।

लेयर्स कुखुराको तीन नम्बरको दाना ४३ रुपैयाँ ४० पैसाबाट बढेर ४५ रुपैयाँ ९० पैसा पुगेको छ। यो समयमा काठमाडौंमा गतवर्ष २६/२७ रुपैयाँ किलोमा पाइने मकै यसवर्ष ३७ रुपैयाँ प्रतिकिलो पुगेको छ।

ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो अर्थात ३६ रुपैयाँमा पाइन्छ। मकैमा प्रतिकिलो १० रुपैयाँ र प्रतिटन ६ हजार रुपैयाँले बढेको छ। 

यसवर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको दाना उद्योग संघका पूर्व अध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए। “भारतमा यसवर्ष मकैको मूल्य अकासिएको छ”, उनले भने, “विभिन्न देशमा निर्यात गर्ने भारतले यसवर्ष आफै मकै आयात गरिरहेको छ।” दाना उद्योगमा सधैँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईको भनाइ छ। 

यस वर्षदेखि सरकारले दाना उद्योगलाई दिदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको उनले बताए। दाना उद्योगलाई कच्चा सामग्री आयातमा पाँच प्रतिशत भन्सारमा ३.६ प्रतिशत छुट दिदै आएको थियो।

सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताए। सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उनको भनाइ छ। 

नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ। गतवर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो। नेपालमा साना ठूला गरी एक सय पाँचवटा कुखुराको दाना उद्योग छन्।
 


 

More form the Internet

loading...