Suvadin, Home

चेतना बढ्यो, बालश्रम र विवाह घटेन 

लमही । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने अभियान जारी छ । बालश्रम र बालविवाह हुने गरेका उपमहानगरपालिकाका पाँच वडामा अभियान सञ्चालन भइरहेको छ । 

अभियान सञ्चालन भइरहेका ती वडामा बालविवाह र बालश्रम लगाउनु हुँदैन भन्ने चेतनामा वृृद्धि भए पनि व्यवहारमा भने लागू भएको छैन । यसकै फलस्वरुप अझै पनि ती वडामा बालश्रम र बालविवाह भएको पाइएको तुलसीपुर उपमहानगर बाल अधिकार संरक्षण समितिका अध्यक्ष नवराज लामिछानेले बताए ।

‘‘हामीले चारवटा वडामा बालविवाह र बालश्रम न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिरहेका छौँ, ती वडाका सबै नागरिक तथा बालबालिकाको सर्वेक्षण गर्दा सबैले बालश्रम र बालविवाह गर्नु कानून विपरीत भन्ने बुझेका छन्’’ उनले भने, “तर पनि बालविवाह र बालश्रम पनि याथावतै रहेको छ ।” 

तुलसीपुरको साविक उरहरि, टरिगाउँ र हलबार तथा हालको ४, ७,  १०, ११ र १२ नं वडामा सबैभन्दा बढी यो समस्या देखिएको भन्दै ती वडामा बालश्रम न्यूनीकरणका लागि चेतनामूलक नाटक, बालश्रम र बालविवाह नगर्न भनी प्रमुखले पठाएको पत्र, अन्य पर्चा पम्प्लेट वितरण गर्नुका साथै सामाजिक परिचालकमार्फत घरघरमा चेतना प्रदान गरिहेको भए पनि बालश्रम र बालविवाह अझै हुने गरेको पाइएको उनले बताए ।

उनका अनुसार पछिल्लो चार महीनाको तथ्याङ्क हेदा ती वडामा ३८२ बालविवाह भएको पाइएको छ । जसमा २८५ बालिका र ९७ बालक रहेका छन् । त्यस्तै ४२ बालक र सात बालिका बालश्रममा रहेको पाइएको छ भने १३४ बालक र १६० बालिकाले विद्यालय छोडेका छन् । अझै पनि बालश्रम तथा बालविवाह उल्लेख्य रुपमा न्यूनीकरण हुन नसकेको भन्दै कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । 

आउँदा दिनमा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्दा उल्लेख्य मात्रामा बजेट व्यवस्थापन गर्नुपर्ने, कार्यक्रमलाई निरन्तरता दिइने, सञ्चारका माध्यमबाट व्यापकरुपमा सचेतनामूलक सूचना सम्प्रेषण गर्ने कार्यलाई निरन्तरता दिनेसमेत बताए । 

अहिले  नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका, जिविसलगायतको आर्थिक सहयोगमा बालविवाह तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहेको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चुनाराले जानकारी दिए  । 


 

More form the Internet

loading...