Suvadin, Home
NMB Bank Ltd 275.9k

चिसोले कठ्याङग्रिए भूकम्पपीडित

लाप्राक –१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जंगलमा थुप्रिएको हिउँ सोहोर्न ब्यस्त छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जंगलमा टहरो बनाउन थालेका हुन्।

प्रशन्न पोखरेल गोरखा, पुस २७


लाप्राक –१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जंगलमा थुप्रिएको हिउँ सोहोर्न ब्यस्त छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जंगलमा टहरो बनाउन थालेका हुन्।

भूकम्पले पुरानो लाप्राक गाउँबाट विस्थापित ६ सय परिवार अहिले गुप्सीपाखाबाट पनि विस्थापित भएका छन्। गुप्सीमा टहरो बनाएर बसेका प्रभावित मध्ये अधिकांश रिनजुलुङ, सानो रिनजुलुङ तथा पुरानै लाप्राक गाउँतर्फ झरेका छन्।

भुमे सामुदायिक वनको जग्गा सरकारले लाप्राकीलाई भोगचलन गर्ने अधिकारसहित घडेरी दिएकामा अहिले एनआरएनएले डोजर लगाएर धमाधम घडेरी खार्ने काम गरिरहेको हो। गुप्सीमा रहेका करिब ६ सय टहरा भत्काइएकाले भूकम्प प्रभावित पुनः डाँडाकाँडामा टहरो बनाउन बाध्य भएका हुन्। टहरो मात्रै होइन, गुप्सीबाट स्वास्थ्य चौकी, विद्यालय पनि अन्यत्र सारिएका छन्।

टहरो बनाउने घडेरी तयार गर्न हिउँ फ्याक्दै गरेका लाप्राकका मानबहादुर गुरुङले भने, ‘गुप्सीका टहरा भताभुंग भए। घरको ठेगान नहुँदा दुःख पाइयो। तीन ठाउँमा टहरो बनाइसके।’

हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर बनेको छ। बढ्दो चिसोमा त्रिपाल, जस्तापाताले छाएको टहरोमा बस्नुपर्दा वृद्धवृद्धा, बालबालिका, सुत्केरी र बिरामी सकसमा छन्। एनआरएनएले छिटो घर बनाइदिओस् भन्ने उनीहरुको माग छ। चिसोबाट बच्न चोयाको चित्रो बुनेर छानामाथि चित्रो राख्दै गरेका रामबहादुर गुरुङले भने, ‘टहरो भित्र र टहरोको चारैतिर चित्रोले बार्दा चिसो कम हुन्छ। पहिलेभन्दा यसपालि बढ्यो। दिनहुँ हिउँ नपरे पनि तुसारोले चिसो बढायो।’

गुप्सीपाखाबाट विद्यालय अन्यत्रै सारेपछि कक्षा ३ की छात्रा तारा गुरुङ विद्यालय जान पाएकी छैनन्। मणिकामदेवी मावि पहिलेको ठाउँबाट एक किलोमिटर तल सारिएको छ। अहिले विद्यालय भवनको (टहरो) बनाउने काम भइरहेको छ। चिसोले वृद्धवृद्धालाई रुघाखोकीजस्ता समस्याले सताएको छ।

स्थानीय समाजसेवी मारसिंह गुरुङले भने, ‘गुप्सीमा नयाँ घर बनाउन घडेरी खारिएको छ। गाउँबासी पुनः यत्रतत्र चौरमा, बारीमा टहरो हालेर बसेका छन्।’ भूकम्पपछि गाउँबाट विस्थापित भएजस्तै गुप्सीबाट पनि विस्थापित भएका गाउँले पुनः टहरो बनाउनुपर्दा समस्यामा छन्। ‘भूकम्पपछि तीन ठाउँमा टहरो बनाइसके,’ गुरुङले भने, ‘पुनःनिर्माणले गति लिन नसक्दा चिसो स्याँठ खपेर बस्नुपरेको छ।’ गुप्सीबाट अरु ठाउँमा सरेका भूकम्प प्रभावितलाई पिउने पानी तथा शौचालयको पनि समस्या छ।

भूकम्प प्रभावित ६ सय १२ परिवार भएपनि ५ सय ७३ को घर निर्माण गर्ने गरी घडेरी खारिएको भन्दै गुरुङले एनआरएनएप्रति असन्तुष्टि पनि जनाए।

लाप्राक नमुना बस्तीको काम आउँदो अक्टोबर ११ सम्म सक्ने र सोही दिन भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण गर्ने तयारी साथ काम अघि बढाइएको लाप्राक नमुना बस्ती पुनःनिर्माण अभियानमा खटिएका इन्चार्ज राजेन्द्र भट्टले बताए।

अहिले घडेरी खार्ने काम अन्तिम चरणमा पुगेको र इँटा बनाउने मेसिन गुप्सीपाखा ल्याइसकिएको जानकारी उनले दिएका छन्। ‘दिनहुँ ९  हजार इँटा बनाउन मिल्ने उपकरण ल्याएका छौं। इँटा बनाउन मिल्ने माटो खोजी गर्दै परीक्षण गरिरहेका छौं,’ भट्टले भने। एनआरएनएले करिब १ सय ५० स्वंयसेवक परिचालन गरी काम गरिरहेको हो।

एउटा घर निर्माणमा करिब रु १५ लाख खर्च हुनेछ । दुई तले घरमा चार कोठा हुन्छन् भने विद्युत् र सोलार जडित तातोपानी आउने गरी शौचालयमा पानीको व्यवस्था मिलाइने भट्टले बताए।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भूकम्प प्रभावित टहरोमा दुःखसाथ बसिरहेको भन्दै छिटो घर बनाउन एनआरएनएलाई आग्रह गरे। मंगलबार लाप्राक पुगेका बस्नेतले सरकारको स्वीकृति बेगर गुप्सीमा मनपरि संरचना बनाउन नपाइने समेत बताएका छन्। रासस

 

More form the Internet

loading...