Suvadin, Home

राजविराजमा दुईजनामा कोरोना पोजेटिभ

राजविराज । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा रणजित झाले जानकारी दिए । 

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए । तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
 
उनीहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ गते घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उनीहरु घरमै बसेका थिए । रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट दासले बताए । 


 

More form the Internet

loading...