Suvadin, Home

कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि पत्ता लाग्यो !

वाशिङ्‌टन । अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्नका लागि सो औषधिले सहयोग गरेको स्पष्ट रुपमा देखिएको विज्ञले बताएका छन् ।

गिलियाडले उत्पादन गरेको औषधिको प्रयोग गर्दा संक्रमित चाँडो निको हुने गरेको देखिएको हो । सो औषधिको मानवीय परीक्षणमा अति सकारात्मक प्रभाव देखिएको बताए पनि त्यसको विस्तृत तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

विज्ञले गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने स्पष्ट पारेका छन् ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।

यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो । सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो (कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि) गरिएको थियो ।

एनआइएआइडीका प्रमुख डा. एन्थोनी फाउचीले भनेका छन्, ‘तथ्यांक हेर्दा गिलियाडले उत्पादन गरेको औषधिको प्रभाव स्पष्ट र महत्वपूर्ण छ, जसबाट संक्रमितलाई निको हुन लाग्ने समय छोटिएको छ ।’

उनले अघि भने, ‘परीक्षणको नतिजाबाट यो स्पष्ट भएको छ कि औषधिले कोरोना भाइरसलाई फैलिनबाट रोक्छ । यसबाट बिरामीलाई उपचार गर्न सकिने क्षमता तर्फ हामी अघि बढ्न सक्ने मार्ग खुला भएको छ ।’

तर गिलियाडको औषधिको प्रयोगबाट संक्रमितको मृत्युदर कम हुने वा नहुने भन्नेमा स्पष्ट जानकारी आएको छैन । परीक्षणमा सहभागी भएका मध्ये गिलियाडको औषधि दिएका मध्येमा मृत्युदर ८ प्रतिशत तथा अरुमा ११.६ प्रतिशत देखिएको छ । तर यसबारे थप अनुसन्धानको खाँचो रहेको विज्ञले बताए ।

डा. फाउचीका अनुसार गिलियाडले उत्पादन गरेको औषधि दिइएका कोरोना भाइरस संक्रमित अरु भन्दा ३१ प्रतिशत चाँडो निको हुने देखिएको छ ।
 


 

More form the Internet

loading...