Suvadin, Home

देवघाट र लोथरमा गोही गणना

करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका छन्। उनका अनुसार २०५५–५६ सालतिर उक्त क्षेत्रबाट पनि गोहीको अण्डा संकलन हुन्थ्यो। त्यसपछि विस्तारै गोही हराउँदै गयो। अहिलेको अवस्था पत्ता लगाउन स्थान थप गरेर यस पटक गोहीको गणना गरिएको अर्याल बताउँछन्।
फाइल तस्वीर

चितवन,फागुन  २१ – अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ। 

करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका छन्। 

उनका अनुसार २०५५–५६ सालतिर उक्त क्षेत्रबाट पनि गोहीको अण्डा संकलन हुन्थ्यो। त्यसपछि विस्तारै गोही हराउँदै गयो। अहिलेको अवस्था पत्ता लगाउन स्थान थप गरेर यस पटक गोहीको गणना गरिएको अर्याल बताउँछन्। 

विगतमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासको क्षेत्रमा गोही गणना गर्ने गरिए पनि यसपालि भने क्षेत्र विस्तार गरेर देवघाट र लोथरमा समेत गणना गरिएको हो। 

यसअघि फागुन ११, १२ र १३ गते राप्ती र नारायणी नदीको विभिन्न ११ वटा ब्लकमा गोहीको गणना गरिएको थियो। तर अन्य सम्भावित क्षेत्रमा गोहीको अवस्था के छ भनेर पत्ता लगाउन क्षेत्र थप गरी देवघाट र पूर्वी चितवनको लोथरमा यही फागुन १८, १९ र २० गते गोही गणना गरिएको हो। 

गणनाका लागि नारायणी नदीमा देवघाटदेखि मझुवा सामुदायिक वनको सिख्रौलीघाट र पूर्व राप्ती नदीमा लोथरदेखि जिन्दगानी घाटसम्मको क्षेत्र थपिएको हो। 

देवघाट र नारायणगढ क्षेत्र गोहीका लागि राम्रो वासस्थान भए पनि मानवीय चापले गोही बस्न सक्ने अवस्था नदेखिएको अनुगमनमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताएका छन्।

नारायणगढबाट केही किलोमिटर तल शिवघाटमा भने एउटा गोही भेटिएको उनको भनाइ छ। यता पूर्वी राप्ती नदी क्षेत्रमा भने चार–पाँच वटा गोही फेला परेको जनाइएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषले जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरसँग मिलेर गोही गणना गरेको हो। आइतबारसम्म गणनाको फिल्डको काम भएकाले आजदेखि डाटा संकलन र व्यवस्थापनको काम शुरु भएको छ। 

गोही छुट्न सक्ने भएकाले हरेक ब्लकमा तीन दिनसम्म दोहोर्याएर गणकहरु नदीमा खटिएका थिए। चितवनको राप्ती र नारायणी नदीमा कूल १६६ वटा गोही छन्। 

सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कूल १ सय ९८ गोही छन्। प्राकृतिक वासस्थानमा घडियाल गोही लोप हुँदै गएको छ।


 

More form the Internet

loading...