Suvadin, Home

दसैंका लागि पाँच हजार खसीबोका काठमाडौं पठाइँदै

बडादसैं नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दसैंको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य शहरमा पठाउने भएका हुन् । 

काठमाडौं । बडादसैं नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दसैंको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य शहरमा पठाउने भएका हुन् । 
    
मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा काठमाडौं तथा अन्य शहर पठाउन थालिएको हो । दसैं र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौं लगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष गङ्गा चन्द ठकुरीले जानकारी दिए । 

केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भने, 'अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुनुहुन्छ । अहिले पनि हामीसँग ५०० भन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन् । हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ ।'

उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका चार वटा सहकारीका सात हजारभन्दा बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौं र एक हजार नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका शहरमा पठाउन लागिएको जानकारी दिए । उनले राज्यले व्यवसायमुखी वातावरण बनाउन सके बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौंमा खसीबोका अभाव हुन नदिने दाबी गरे । 
    
उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरीद गरेर सहकारी जिल्ला सङ्घमार्फत काठमाडौं लगायतका शहरमा पठाउने गरेका छन् । उनले पछिल्लो समयमा भारतबाट अवैधरुपमा भित्रिने खसीबोकाका कारण आफूहरुले गरेको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुःख दिने गरेको गुनासो गरे । 

उनले जिउँदो खसी प्रतिकिलो रु ४५० देखि ५१५ का दरले खरीद गर्दै आएको र रु ५०० देखि ५५० सम्ममा बिक्री गर्ने गरेको बताए । दसैंलाई लक्षित गरी किसानको घरघरबाट सङ्कलन गरिएका ५०० भन्दा बढी खसीबोका सङ्घको बिक्री केन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेले जनाएको छ । सङ्घका अनुसार घटस्थापनासम्म दुई हजारभन्दा बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछ ।

सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष ठकुरीले सरकारले गत फागुन ३ गतेदेखि नेपालमा भारतीय खसीबोकाको आयातमा कडाइ गरेपछि नेपाली कृषकलाई राहत भएको बताए । उनले भने, 'सरकारले भारतीय खसीबोका ल्याउन बन्देज लगाउँदा पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ । यसका लागि सरकारले अब कृषकका लागि प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्छ ।'

पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसीबोका भित्रिन दिने सरकारी नीतिले पशुपालक कृषकलाई थप हौसला मिलेको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसीबोका नेपाल भित्रिएका छैनन् । भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याए खसीबोका भन्सार पास हुँदैनन् । सरकारको यस कदमले आफूले पालेका खसीबोकाले बजार पाउँछन् भन्नेमा नेपाली कृषक ढुक्क बनेका छन् ।


 

More form the Internet

loading...