Suvadin, Home

सौर्य बत्ति जडानसँगै संगीत विद्यालय स्थापनार्थ सहयोग
देउसी–भैलोको रकम फजुल खर्चमा होइन, सामाजिक कार्यमा 

तिहारको अवसरमा खेलिने देउसी–भैलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने प्रचलन बढ्दै गएको छ। देउसी–भैलो खेलेर बनभोज जाने तथा अन्य मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरिएकोमा पछिल्लो समयमा उक्त रकम विद्यालयमा सौर्य बत्ति जडान,  विद्यालयलाई सहयोग तथा बालगृहलाई सहयोग गरिएको छ।
कञ्चनपुरकाे पुनर्वासस्थित न्यू पुनर्वास डान्स ट्रेनिङ सेन्टरका बालिका देउसी–भैलाे खेल्दै। तस्बिर: लक्ष्मी श्रेष्ठ।

काठमाडौं, कात्तिक ७– तिहारको अवसरमा खेलिने देउसी–भैलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने प्रचलन बढ्दै गएको छ।

देउसी–भैलो खेलेर बनभोज जाने तथा अन्य मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरिएकोमा पछिल्लो समयमा उक्त रकम विद्यालयमा सौर्य बत्ति जडान,  विद्यालयलाई सहयोग तथा बालगृहलाई सहयोग गरिएको छ।

भैलीको रकमबाट विद्यालयमा सौर्य बत्ती 
जाजरकोट–भैली खेलेको रकमबाट कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयमा सौर्य बत्ती उपलब्ध गराइएको छ। 

पाँचकाटियाका युवायुवतीले भैली खेलेर संकलन गरेको ४० हजारबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले जानकारी दिए। 

भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवा–युवतीले सकारात्मक सन्देश दिएको स्थानीयवासी रामबहादुर पुनले बताए। 

संगीत विद्यालयका लागि देउसीबाट रकम संकलन
खोटाङ–
खोटाङमा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यले खेलिएको देउसी भैलोबाट एक लाख २३ हजार रकम संकलन गरिएको छ। 

तिहारको अवसर पारेर जनसांस्कृतिक महासंघ खोटाङले दिक्तेलमा आयोजना गरेको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो। 

संगीत क्षेत्रमा लाग्न चाहने युवा–युवतीलाई जिल्लामै अध्ययन गर्न पाउने अवसर दिलाउन संगीत विद्यालय स्थापनाको अभियान थालिएको महासंघका अध्यक्ष प्रमोद श्रेष्ठले बताए। 

संगीत विद्यालय स्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले विभिन्न क्षेत्रसँग समन्वय गरिरहेको महासंघले जनाएको छ। गीत–संगीतको क्षेत्रमा खोटाङ अन्य जिल्लाभन्दा अगाडि भए पनि संगीत विद्यालय नभएकाले स्थापनाको पहल थालिएको हो।

देउसीभैलोको रकम बालगृहमा
लमजुङ–  यहाँका बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई सहयोग गरेका छन्। 

बेँसीशहर–२ भकुण्डेका बालबालिकाले संकलन गरेको १४ हजार सात सय ३० रुपैयाँ आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरेका हुन्। 

    परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम भएको भन्दै द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरिएको देउसीभैलो समूहका युजन धितालले बताए। 

आफूले रमाइलो गरेर जम्मा गरेको रकम बालगृहमा दिएर त्यहाँका दाजुदिदी रमाउँदा आफूहरूलाई झनै आनन्द मिलेको देउसीभैलो समूहकी सुजा थापाले बताए। 


     


 

More form the Internet

loading...