Suvadin, Home

Cover Image

प्रदेश ३ मा ३८ सयलाई डेंगु, ‘खोज र नष्ट’ अभियानमा सहभागी हुन आह्वान

हेटौंडा । डेंगु रोगबाट प्रदेश—३ का ९ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी चितवन जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । प्रदेश—३ को सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा चितवनमा बुधबारसम्म १ हजार ४ सय ६० डेंगुका बिरामी फेला परेका छन् ।

काठमाडौंमा भने १ हजार ३ सय ४५ जना रहेका छन् । मकवानपुरमा ७ सय ९१, ललितपुरमा १ सय ५ र भक्तपुरमा ९६ डेंगुका बिरामी फेला परेको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

यसैगरी, धादिङमा २३, काभ्रेपलान्चोकमा ६, नुवाकोटमा २ र सिन्धुपाल्चोकमा १ जना फेला परेको जानकारी दिएको छ । दोलखा, रामेछाप, सिन्धुली र रसुवा डेंगुका रोगी नभएको मन्त्रालयका प्रवक्ता सतिश विष्टले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रण गर्न प्रदेशका सम्पूर्ण नागरिकलाई ‘खोज र नष्ट’ अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

प्रत्येक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म आफ्नो क्षेत्रमा सामूहिक रूपमा सरसफाइ गर्ने, डेंगुका लार्भा खोज र नष्ट गर्ने अभियान चलाउन मन्त्रालयले आह्वान गरेको छ । समुदाय सक्रिय र सजग नभएसम्म डेंगु नियन्त्रणमा आउन नसक्ने भएकाले राजनीतिक दललगायत सम्पूर्ण क्षेत्रका समुदाय सामूहिक रूपमा यो अभियान सहभागी हुन मन्त्रालयले सबैसँग आह्वान गरेको छ । यो अभियान कात्तिक मसान्तसम्म सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले डेंगु प्रभावित जिल्लाका अस्पतालहरूलाई ५०/५० थान झुल वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट स्वास्थ्य कार्यालयको ल्याबलाई उपलब्ध गराएको छ । तीन सयवटा किट उपमहानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।

जिल्ला स्वास्थ्य शाखाको ल्याबले डेंगुको परीक्षण निःशुल्क गर्दै आएको छ । निजी क्षेत्रका ल्याबमा १ हजार रुपैयाँ शुल्क लिने गरेका छन् । उच्च ज्वरोसँगै चिकित्सकले अन्य दुई खास लक्षण टाउको दुख्ने, बान्ता आउने, शरीरमा डाबर देखेमा डेंगुको उपचार गर्न सक्ने विश्व स्वास्थ्य संगठनको प्रावधान छ ।


 

More form the Internet

loading...