Suvadin, Home

Cover Image

काठमाडौंमा कुकुरको बिगबिगी, चासो कसलाई ? 

काठमाडौं । काठमाडौं उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको चिकित्सकहरुले बताएका छन्।

छाडा कुकुरको टोकाइबाट एक किशोरीको ज्यान गएको छ। यसअघि ती किशोरीका भाइलाई पनि कुकुरले टोकेको थियो। त्यसबेला सरकारी अस्पतालमा पुगेर रेबिजविरुद्धको सुई लगाएकी ती किशोरीले आफूलाई टोक्दा भने गोप्य राखिन्। रेबिज प्राणघातक रोग भएकाले शंकास्पद कुकुरले टोक्नेबित्तिकै एन्टिरेबिज सुई लगाइहाल्नुपर्छ। तर, किशोरी मनीषा अर्यालले गोप्य राख्दा अकालमा ज्यान गुमाउनुपरेको दुःखद घटना सार्वजनिक भएको छ।

दुई महिनाअघि कुकुरले टोकेको घटना भर्खर सार्वजनिक भएको हो। राजधानीलगायत मुलुकका प्रमुख सहरमा छाडा कुकुरको बिगबिगी छ। काठमाडौं ‘एनिमल ट्रिटमेन्ट सेन्टर’ नामक संस्थाले गरेको एक अध्ययनअनुसार काठमाडौंमा मात्र करिब २२ हजार ५ सय सडक कुकुर छन्। सोही संस्थाका अनुसार हरेक वर्ष कुकुरको टोकाइबाट दुई सय व्यक्तिको रेबिज रोगबाट मृत्यु हुने गरेको छ। ३५ हजार व्यक्ति कुकुरको टोकाइबाट पीडित हुने गरेका छन्।

मुलुकका विभिन्न गाउँसहर एवं चोकहरूमा कुकुरले टोक्ने, चिथोर्ने घटना दिनहुँजसो हुने गरेका छन्। कुकुरको आक्रमण बटुवा, यात्रुहरूले व्यहोर्नु परिरहेको छ। कुकुरकै कारण सडक दुर्घटनासमेत बढेको छ। चहलपहल हुने बजार क्षेत्रमा हिँड्डुल गर्दा असुरक्षित महसुस भइरहेको छ।

कुकुरको टोकाइबाट ज्यान गुमाउनुपर्ने अवस्था एकातिर छ भने अर्कोतर्फ कुकुरले जथाभावी दिसा गर्दा वातावरणीय प्रदूषण बढेको छ। कुकुरको दिसा तत्काल कुहिँदैन। खेतबारीमा मल पनि हुँदैन। परजीवीका लागि कुकुरको दिसा उपयुक्त वासस्थानसमेत हो। ‘कोलिफर्म ब्याक्टेरिया’ का साथै अन्य हानिकारक जीव फैलने खतरासमेत हुन्छ। कुकुरको दिसा कीटनाशक विषादीसरह खतरनाक मानिन्छ। कुकुरलाई छुट्टै चर्पी बनाउनुपर्ने आवश्यकता भए पनि कुकुरधनीले लापरबाही गरिरहेको भेटिन्छ।

धार्मिक एवं सांस्कृतिक रूपमा कुकुरको महत्त्व दर्शाउँदै हरेक वर्ष कुकुर पूजा पनि गरिन्छ। तर, कुकुरकै कारण भययुक्त दिनचर्या बिताउनुपरेकाले दीर्घकालीन ढंगले समस्याको समाधानका उपाय अवलम्बन गर्नुपर्छ। विकसित मुलुकमा सामुदायिक कुकुरको उचित व्यवस्थापन गर्न विभिन्न योजना एवं कार्यक्रम अघि सारिएका छन्। घरायसी वा सामुदायिक कुकुरको जथाभावी दिसापिसाब गराउनसमेत कानुनी बन्देजको व्यवस्था छ।

भयरहित ढंगले हिँड्डुल गर्न पाउनु मौलिक हक हो। रेबिजको सुई नलगाएका कारण छाडा मात्र होइन, घरपालुवा कुकुरले टोक्ने गरेका उदाहरण पटक–पटक दोहोरिने गरेको छ। आफूले पालेको वा अन्य कुनै पशुपक्षीबाट कसैको ज्यान जान सक्ने वा कसैलाई कुनै चोट पुग्न सक्ने खतरा रोक्न आवश्यक पूर्वसावधानीको बन्दोबस्त गर्नुपर्छ।

मुलुकी अपराध (संहिता) ऐन, ०७४ ले पशुपक्षी छाडा छोड्नेलाई सजायको व्यवस्थासमेत गरेको छ। कसैले आफ्नो वा आफ्नो नियन्त्रणमा रहेको कुनै पशुपक्षी अर्काको घर वा सार्वजनिक बाटोघाटो वा सार्वजनिक स्थलमा छाडा छाड्न हुँदैन। छाडा छाडेको पाइएमा त्यस्ता व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

छाडा कुकुरले दुर्घटनासँगै ज्यानसमेत लिइसकेको अवस्थामा यसतर्फ राज्य एवं सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने खाँचो छ। काठमाडौं महानगरपालिकाको सहयोगमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान पनि सुरु भएको थियो। ७ हजारभन्दा बढी कुकुरको बन्ध्याकरण गरेपछि अभियान बीचैमा सेलायो। मुलुकका विभिन्न सहरमा झन्डै ३० लाख सामुदायिक कुकुर रहेको अनुमान छ। यी कुकुरको उचित व्यवस्थापनका लागि राष्ट्रिय सभाको बैठकमा समेत सांसदहरूले आवाज उठाइसकेका छन्। त्यसलै स्थानीय, प्रदेश र संघ र गरी तीन तहका सरकारबीचको समन्वय हुनुपर्ने आवश्यकता छ। कुकुरलाई रेबिजविरुद्धको सुई लगाउने र बन्ध्याकरण गर्ने काम एकसाथ अघि बढाउनुपर्ने खाँचो छ।

छाडा कुकुरको उचित व्यवस्थापन गर्न वैज्ञानिक विधि अपनाउनुपर्छ। रेबिज रोकथामका लागि स्वदेशमै भ्याक्सिन उत्पादन, भण्डारण, वितरण र प्रयोगका क्षेत्रमा थप लगानी गर्नुपर्छ। भ्याक्सिन सर्वसुलभ हुनुपर्छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यमा जनताको पूर्ण सहभागिता आवश्यक हुन्छ। त्यसैले कुकुरको उचित व्यवस्थापनका लागि योजना तर्जुमाको चरणसँगै कार्यान्वयन, अनुगमन तथा मूल्यांकनका चरणहरूमा समेत जनसहभागिता हुनुपर्छ।


 

More form the Internet

loading...