Suvadin, Home

संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छः मुख्यमन्त्री पौडेल

संविधान दिवसको उपलक्ष्यमा प्रदेश नम्बर ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आज आयोजित समारोहमा उनले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहने बताए। 
फाइल तस्वीर

हेटौंँडा, ३ असोज – प्रदेश नम्बर ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताएका छन्। 

संविधान दिवसको उपलक्ष्यमा प्रदेश नम्बर ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आज आयोजित समारोहमा उनले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहने बताए। 

उनले जनताको जीवनशैली र व्यवहारमा सुधार गरी उनीहरुलाई समाज उत्थानको साथै विकासको पूर्वाधार निर्माणमा आत्मनिर्भर तुल्याउन प्रदेशका लागि आवश्यक ऐन कानून तर्जुमा गर्ने र केही ऐन प्रमाणीकरण गरिसकिएको उल्लेख गरे। 

मुख्यमन्त्री पौडेलले जनतासँग प्रत्यक्ष सरोकार भएका विकाससँग सम्बन्धित कार्यालयबाट जनतालाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको उल्लेख गरे। 

सो अवसरमा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले तराईका राजनीतिक दलले संविधानको मर्मलाई आत्मसात गरी जनताको मौलिक हकको सम्बद्र्धन गर्न र उनीहरुलाई आर्थिक समृद्धि क्रियाशील गराउन एकजुट हुनुपर्ने विश्वास व्यक्त गरे। 

समारोहमा मुख्यमन्त्री पौडेलले जन आन्दोलनको क्रममा शहीद हुनुभएका वासुदेव घिमिरेका मातापिता र शहीद रुद्र पाख्रिनका धर्मपत्नी राममाया पाख्रिनलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाई सम्मान गरे। 

संविधान दिवस समारोह समितिद्वारा आज बिहान हेटौँंडास्थित भुटनदेवी उच्च माविको प्राङ्गणबाट निस्केको झाँकीसहितको र्याली हेटौँंडा बजारलगायत चौकीटोल हुँदै स्थानीय मकवानपुर क्याम्पसको प्राङ्गणमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो। 

र्यालीमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्री, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका प्रतिनिधि सहभागी थियो।
 
 


 

More form the Internet

loading...