Suvadin, Home

कारोबारी बढेपछि लागुऔषधको हब बन्दै बाँके, कसरी हुन्छ नियन्त्रण ?

बाँके । बाँकेमा लागुऔषध कारोवारीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन् । तीमध्ये २२१ जनाविरुद्ध मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

कारोबारीलाई कानूनी दायरामा ल्याउन प्रहरीले सक्रियता देखाएको कारण पक्राउ पर्ने र मुद्दा दर्ता हुनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७४-०७५ मा पक्राउ परेका ३१० लागुऔषध कारोबारीमध्ये १४५ जनामाथि मुद्दा दायर भएको थियो । यसैगरी आर्थिक वर्ष  २०७३-०७४ मा पक्राउ परेका १८० लागुऔषध कारोबारीमध्ये १३७ जनामाथि मुद्दा दायर भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आव २०७५-०७६ को हालसम्म ४६६ ग्राम १२० मिलिग्राम ब्राउनसुगर, ४७ किलो ८२४ ग्राम चरेस, १८ किलो ५०० ग्राम अफिम, दुई किलो ७२० ग्राम गाँजा, सात लिटर ८०० मिलिलिटर कोरेक्स र सात हजार ७८ ट्याब्लेट नाइट्राजेपाम लागुऔषध पक्राउ परेको छ ।

नेपालमा लागुऔषध नियन्त्रण ऐन ०३३ को दफा ८४ को ६ (३) मा भएको व्यवस्थाअनुसार एक सय ग्रामभन्दामाथि कारोबार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । - रासस


 

More form the Internet

loading...