Suvadin, Home
Nepal life 2.626M

महानगरपालिका उपप्रमुखलाई विभिन्न ठाँउकाे धुलो र मास्क

उनीहरूले सफा सुन्दर काठमाडौं शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाैँ सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन्। 
रासस तस्विर।

काठमाडौं, २८ पुस – नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँं निर्माण गर्न माग गर्दै काठमाडौं महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएका छन्। 

नेपाल विद्यार्थी संघले काठमाडौं शाखाको संयोजनमा शुक्रबार काठमाडौं महानगरपालिका सुन्धारा अगाडि धर्ना दिएको हो। 

उनीहरूले सफा सुन्दर काठमाडौं शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाैँ सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन्। 

नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौंका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताएका छन्। राईले भने - 'धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ।'

नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौं निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताएकी छिन्।

नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पारेका छन्।

नेविसंघ काठमाडौं अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको ९ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताएका छन्।

नेवि संघले धर्नासँगै महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौंका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए। 

उनीहरूले महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो बुझाएका हुन्। 

धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौं उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको र यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताएका छन्।

उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौं महानगरपालिकाको प्राथमिकतामा रहेको र मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको जानकारी दिएकी छिन्।

धर्नामा नेवि संघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो।


 

More form the Internet

loading...