Suvadin, Home

१४ जिल्लाका भूकम्पपीडित निजी आवास पुनः निर्माण प्रक्रियामा

प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल ६ लाख ६७ हजार ६ सय ६२ लाभग्राहीमध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भएको छ। सोमबारसम्म १ लाख २ सय ३६ घरको पुनःनिर्माण सम्पन्न भएको छ। ३ लाख ३२ हजार ३ सय २१ घर पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन्।
फाइल तस्वीर

काठमाडौं, फागुन १४ – भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। 

प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल ६ लाख ६७ हजार ६ सय ६२ लाभग्राहीमध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भएको छ।

सोमबारसम्म १ लाख २ सय ३६ घरको पुनःनिर्माण सम्पन्न भएको छ। ३ लाख ३२ हजार ३ सय २१ घर पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन्। 

५ वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते प्राधिकरणको स्थापना गरेको थियो। प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। यही अनुपातमा आवास पुनःनिर्माणको काम अघि बढे आगामी वर्षात्अघि ६० प्रतिशत आवास पुनःनिर्माण भइसक्ने उनले बताएका छन्। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल आवास पुनःनिर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीयस्तरमा परिचालन गरिएकाले आवास निर्माणले गति लिएको बताएका छन्। 

भुसालले भने – 'निर्माणकर्मी तालीम व्यापक रुपमा सञ्चालन गरिएको एवम् निर्माण सामग्री तथा काठको आपूर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको संख्या उल्लेख्य रुपमा बढेको छ। वर्षात्अघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमुनि ल्याउने लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौँ।' 

प्राधिकरणले जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तकृया गरेर पुनःनिर्माणका लागि थप प्रोत्साहन गरिरहेको जनाएको छ। भूकम्प कम प्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने छ। 

कम प्रभावित जिल्लाका कूल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिएका छन्। 


 

More form the Internet

loading...