Suvadin, Home

इबोला संक्रमणबाट एक वर्षमा कंगोमा दुई हजार जनाको मृत्यु

एजेन्सी । डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ । 

कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् । 

उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो । इबोला संक्रमितहरुको संख्या तीन हजार थियो र उनीहरुमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको हो, अधिकारीहरुले जनाएका छन् । 

बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारी अनुसार सो संक्रमणबाट दुई हजार छ जनाको ज्यान गएको छ । ती मध्ये एक हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो । 

उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगष्टमा देखा परेको थियो । पछि सो प्रान्त हुदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो । 

स्वास्थ्य अधिकारीहरुले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन् । अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ ।

यो संक्रमणको नाम इबोला उत्तरी कंगोको एक नदीको नामबाट राखिएको बताइन्छ । उक्त नदी क्षेत्रमा यस संक्रमणका विरामी सन् १९७६ मा फेला परेका थिए । 

यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौँ नागरिकको ज्यान गएको छ । अफ्रिकी देशहरुमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका समाचारहरु आइरहेका थिए । 

यस संक्रमणबाट गुएना, सियरा लियोन, लाइबेरियामा धेरै मानिसको ज्यान गएको छ । पछिल्लो सयम सन् २०१४ मा यो संक्रमणले धेरै नागरिकको ज्यान लिएको थियो । 

सन् २०१४ देखि सुरु भएको यस संक्रमणबाट दुई वर्षमा नै कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई महामारीका रुपमा घोषणा गरेको थियो । 

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य क्षेत्रकै संकटकालका रुपमा घोषणा गरेको थियो । उक्त संगठनको पहलमा खोपको विकास गरी पछि प्रभावित देशका कम्तीमा पनि २ लाख मानिसलाई इबोला विरुद्धको खोप लगाइएको थियो । 

अहिले पनि ती देशमा यो संक्रमण जन स्वास्थ्यकै एक प्रमुख समस्याका रुपमा रहेको छ र ती देशका सरकारहरुले इबोलाविरुद्ध विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गर्ने गर्दछन् । 


 

More form the Internet

loading...