Suvadin, Home

मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय

मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ।
फाइल फोटो।

दाङ,  कात्तिक १५– मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ। 

जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय गरेको हो। 

यसअघि स्थानीय तहहरुबाट भूमिसुधार कार्यालयमार्फत मन्त्रालयमा पठाइएका नामलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि बैठकले प्रमाणीकरण गरेको हो।

भूमिसुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिए। 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिएर न्याय गरेको बताए। वास्तविक मुक्त कमलरीले परिचयपत्र पाउनुपर्ने भन्दै उहाँले परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक सिफारिसमा निःशुल्क सेवा प्रदान गरिएको जानकारीसमेत दिए।

यसअघि दाङमा १० जना मुक्त कमलरीले परिचयपत्र पाएका छन्। भूमिसुधार मन्त्रालयमा दाङका दुई हजार ९४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा चार हजार ६७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाइने पूर्व कमलरी उर्मिला चौधरीले जानकारी दिए। 


 

More form the Internet

loading...