Suvadin, Home

दिल्लीको एम्स अस्पतालमा भीषण आगलागी

नयाँ दिल्ली । शनिबार साँझ भारतको राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पताल (अखिल भारतीय आयुर्विज्ञान संस्थान)मा आगलागी भएको छ । 

आगो नियन्त्रणमा लिनको लागि ३६ वटा दमकलको प्रयोग गरिएको थियो । अपरान्ह साढे ४ बजे शुरु भएको आगलागी राति करिब १० बजेतिर नियन्त्रणमा लिइएको थियो । सो आगलागीमा मानवीय क्षति भने नभएको अस्पतालले जनाएको छ । 

दिल्लीको सबैभन्दा ठूलो अस्पताल एम्सको टिचिङ ब्लकबाट आगो शुरु भएको थियो । टिचिङ ब्लकमा टेस्टिङ ल्याब र चिकित्सकहरुको निवास थियो । यो भवन इमर्जेन्सी वार्डको नजिकै थियो ।यो भवनमा बिरामीलाई नराखिएपनि नजिकैको इमर्जेन्सी भवनबाट समेत बिरामीलाई निकालेर अन्यत्र सारिएको थियो । 

एम्स अस्पतालका चिकित्सक विशाल पटेलले बताए अनुसार करिब साढे ४ बजे सो ब्लकमा आगलागी भएको हो । त्यहाँ आगलागी शुरु हुनासाथै बिरामीहरुलाई नजिकैको ब्लकबाटपनि सारिएको उनले जनाए । अस्पतालको एउटा भवनबाट शुरु भएको आगो पाँचौ भवन सम्म पुगेको कर्मचारीहरुले बताएका छन् ।

आगलागी भइरहेको बेलामा समय समयमा एयर कन्डिसर पड्केको आवाज पनि आएको थियो । भित्तामा सिमेन्ट टुटेर तल झरिरहेको देखिएको थियो । पूर्व अर्थमन्त्री अरुण जेट्लीलाई एम्सकै कार्डिया न्यूरो सेन्टरमा भर्ना गरिएपनि उनी रहेको भवन आगलागी भएको भवनबाट टाढा रहेको जनाइएको छ । 


 

More form the Internet

loading...