Suvadin, Home

दुर्घटनामा १३ जनाको मृत्यु

भुमेस्थान–६ कोइरालेस्थित पृथ्वी लोकमार्गमा शुक्रबार बिहान ग.२च. ४५७२ नम्बरको स्कारपियो गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक लमजुङ गाँउ सहर–६ का २४ वर्षीय सञ्जय धिताल, ३१ वर्षीय बिष्णु रावत र नामथर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुभदिन संवाददाता

काठमाडौं, पुस १ 

धादिङ : भुमेस्थान–६ कोइरालेस्थित पृथ्वी लोकमार्गमा शुक्रबार बिहान ग.२च. ४५७२ नम्बरको स्कारपियो गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक लमजुङ गाँउ सहर–६ का २४ वर्षीय सञ्जय धिताल, ३१ वर्षीय बिष्णु रावत र नामथर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहट : चन्द्रपुर नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना.३ख. ८८७३ नम्बरको बिग्रेर रोकी राखेको ट्रकमा शुक्रबार ना.१३प. ८९०६ नम्बरको मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रे घर भई वीरगन्ज उप–महानगरपालिका–१८ बस्ने ३३ वर्षीय प्रकाश थपलिया छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वीरगन्ज प्रहरीले जनाएको छ।

दुर्घटनामा भक्तपुर घर भएका ३५ वर्षीय राजाराम खयरगोलीको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की : लेखनाथ नगरपालिका–१३ स्थित सडकमा ग.१त. ३६०५ नम्बरको ट्याक्टर बिहीबार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्य ुभएको छ।

मृत्यु हुनेमा गगनगौडा बस्ने ३० वर्षीय कृष्ण पुन छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। दुर्घटनामा १८ वर्षीय प्रेम रोका र ३० वर्षीय सुरेश रानामगर घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।

नवलपरासी : दुम्कीबास–५ दाउन्ने बजारस्थित महेन्द्र राजमार्गमा पियू ६५ सिटि ३७१७ नम्बरको भ्यान र लु.१७प. ११७७ नम्बरको मोटरसाइकल बिहीबार एक आपसमा ठक्कर खाँदा नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही : तिलोत्तमा नगरपालिका–६ मणिग्राम चोकस्थित सिद्धार्थ राजमार्गमा ना.५ख. ४३९ नम्बरको ट्रकले बिहीबार साइकलयात्री महुबारी बस्ने ६६ वर्षीय शिवप्रसाद शर्मालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाग्लुङ : अमलाचौर–२ टाकुरेस्थित माल्ढुंगा कुश्मिशेरा सडकखण्डमा बाटो खन्ने क्रममा डोजर ब्रेकफेल भई सडकबाट करिब ५० मिटर तल खसी दुर्घटना हुँदा चालक तनहु घर भएका २९ वर्षीय समिर गुरुङ र डोजर अप्रेटर बाग्लुङ भकुण्डे–९ बस्ने २८ वर्षीय भद्र ठकुरीको मृत्यु भएको छ।

सल्यान : बामे–६ धारापानीस्थित सडकमा भे.१ त ५७८३ नम्बरको ट्याक्टर बिहीबार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा चालक सुर्खेत राँकम–७ बस्ने २३ वर्षीय प्रेम नेपालीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा सल्यान बामे–७ बस्ने ३५ वर्षीया मनकुमारी पुन गम्भीर घाइते भएकीले उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

गुल्मी :  कुर्घा–५ लौरेसिमलस्थित रिडी बुर्तिवाङ कच्ची सडकखण्डमा ना.३ख. ३७८५ नम्बरको ट्रकले  लु.२ख. ११२० नम्बरको ट्रकलाई साइड दिने क्रममा ना.३ ख ३७८५ नम्बरको ट्रकका सहचालक रुपन्देही बुटवल शिवनगर बस्ने ४१ वर्षीय राजु श्रेष्ठलाई सोही ट्रकको पछाडी पट्टीको टायरले किच्दा घटनास्थलमै मृत्यु भएको छ।

कैलाली : धनगढी उपमहानगरपालिका–३ राजपुरस्थित सडकमा ना.६ख. ६३२८ नम्बरको बस र से.५प. १३०० नम्बरको मोटरसाइकल बिहीबार एक आपसमा जुध्दा मोटरसाइकल चालक गेटा–७ बस्ने २५ वर्षीय पंकज भट्टको मृत्यु भएको छ। घाइते भट्टको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन रावल गम्भीर घाइते छन्। उनको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...