Suvadin, Home

फोहोर कसलार्इ? सडकलार्इ!
अझै उठ्न सकेन काठमाडौं उपत्यकाको फोहोर, सडकमा जताततै दुर्गन्ध

करीब एक महिनादेखि थुप्रिएको फोहोर तत्कालका लागि सिसडोल ल्याण्डफिल साइटमा नै व्यवस्थापनको टुंगो लागेपछि काठमाडौं उपत्यकाको फोहर उठ्न थालेको थियो। तर, एक हप्ता पनि नहुँदै पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिन थालेको छ। नियमित रूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली घरमा नै व्यवस्थापन गर्न काठमाडाैं महानगरपालिकाले आग्रह गरेको थियो।
फोहोरको थुप्रो। फाइल तस्वीर

उकिता दाहाल, काठमाडाैं, साउन २४ – काठमाडाैं उपत्यकाका व्यस्त सडक। पैदलयात्री हिँड्नका लागि असाध्यै थोरै बाटो। तर, पैदलयात्रीका लागि छुट्याइएको सानो सडक पेटी पनि अहिले फोहोरको थुप्रोले भरिएको छ। 

केही दिनयता जताततै फोहोरै फोहोर थुप्रिएको छ। सडक र चोकचोकमा फोहोर थुप्रिएकाले सर्वसाधारण र यातायातका साधनलाई आवतजावतमा पनि समस्या भएको छ। 

करीब एक महिनादेखि थुप्रिएको फोहोर तत्कालका लागि सिसडोल ल्याण्डफिल साइटमा नै व्यवस्थापनको टुंगो लागेपछि काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको थियो। तर, एक हप्ता पनि नहुँदै काठमाडौं उपत्यकाको फोहोर उठ्न छाडेको हो।

फोहोर नियमित रूपमा संकलन कार्य शुरु भइसकेको जनाउँदै लामो समयदेखि रोकिएको फोहोर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहोर अन्यत्र नफाली घरमा नै व्यवस्थापन गर्न काठमाडाैं महानगरपालिकाले आग्रह गरेको थियो।

काठमाडौं उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर संकलन हुँदै अाएको छ। संकलित फोहोर सिसडोल ल्याण्डफिल साइटमा नै लैजाने गरिएको छ। लामो समयदेखि काठमाडौं उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि काठमाडाैं महानगरपालिकाले ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहट्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। 

संयोजक मरहट्ठाका अनुसार विगत तीन दिनदेखि नियमित रुपमा पानी परेकाले बाटोमा समस्या आउँदा फोहोर उठ्न नसकेको हो। मरहट्ठा भन्छन्, ‘नियमित रूपमा धेरै पानी परेकाले बाटो मर्मतको काम अवरूद्ध हुँदा फोहोर व्यवस्थापनमा समस्या आएको हो।’ पानी रोकिएकाले अाजदेखि पुनः फोहोर उठ्ने उनले बताएका छन्।

काठमाडौं महानगरपालिकाले १२ वर्षअघि नै दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न सिसडोल लिएको थियो। सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहोर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले उक्त स्थानमा तत्काल फोहोर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन्।

काठमाडाैं महानगरपालिकाका अनुसार आगामी ६ महिनासम्म सिसडोलमा नै फोहोर व्यवस्थापन गर्न सकिन्छ। हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानभन्दा दुई किलोमिटरको दूरीमा पर्ने बञ्चरेडाँडामा एक हजार ७ सय ३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ। तर, काम अघि बढ्न सकेको छैन।

फोहोर व्यवस्थापनका लागि तत्काल वैकल्पिक स्थानको खोजी गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौं उपत्यकाको फोहोर पुनः सडकमा नै थुप्रिने सम्भावना बढेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका अधिकारीहरू बताउँछन्।

आजैबाट बञ्चरेडाँडालाई दीर्घकालीन रुपमा फोहोर राख्ने स्थान बनाउने काम शुरु गर्ने हो भने पनि तत्कालका लागि व्यवस्थापन गर्ने स्थान आवश्यक पर्ने उनीहरू बताउँछन्। सिसडोलको फोहोरमा करीब ४०–५० मिटरमाथिसम्म निर्माण गरिएको प्रवेश मार्ग फोहोरको अत्यधिक भारले पहिरो जाने सम्भावना बढी रहेकाले अब त्यहाँ फोहोर बिसर्जन गर्नु उपयुक्त नहुने बताइएको छ।

काठमाडौं महानगरपालिकाले दीर्घकालीन रुपमा फोहोर राख्ने स्थान बञ्चरेडाँडा निर्माणको काम केन्द्र सरकारको हो भन्दै आएको छ। काठमाडाैं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले केन्द्र सरकारसँग समन्वय गरेर निर्माण काम छिटो शुरु गर्ने जानकारी दिएका छन्।

काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डबाट प्रक्रिया अघि बढाइएको निजी विकासकर्तासँग प्रारम्भिक सम्झौता भएको चार महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुन सकेको छैन।

'गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन। यसको पूर्णरुपमा निर्माण गर्ने काम काठमाडौं महानगरपालिकाको हो। निर्माणका लागि काठमाडाैं महानगरपालिकाले पहल आजैबाट शुरु गर्नुपर्ने छ', काठमाडाैंको बानेश्वरका भद्रप्रसाद परियार भन्छन् – 'अन्यथा फोहोरको कारण अत्यन्तै ठूलो समस्या आउन सक्छ।'


 

More form the Internet

loading...