Suvadin, Home

आज यमपञ्चकको चौथो दिन, गोवर्धन पूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाई गोरूलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ।

काठमाडौं, २२ कात्तिक यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाई गोरूलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ।


 

More form the Internet

loading...