Suvadin, Home

कष्टकर जीवनः स्वास्थ्यचौकीमा सिटामोल समेतको अभाव

महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भएको छ। स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ। 
फाइल फोटो।

धादिङ, असोज २– महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भएको छ। स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ। 

खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ। तीन बच्चाको आमा भइसकेकी  शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन्।

सबैभन्दा सानो नानी काखमा बोकेर जिल्ला समन्वय समितिका संयोजकलाई आफ्नो दुःख सुनाउन आएकी शुक्रिमाया स्वास्थ्यचौकी जान दिनभरि हिँड्नु पर्छ तर औषधि किनेर बच्चालाई खुवाउनुपर्ने भएकाले स्वास्थ्यचौकी नगएको बताईन्।

घरमा खानेकुरा नभएर सिस्नुको खोले खाएर आफू गाउँको समस्या सुनाउन सरकारको मान्छे आएको भन्ने थाहा पाएर बच्चा बोकेर भेला भएकी थिइन्। 

सरकारले स्वास्थ्यचौकीमै गर्भवती जाँच गराउने र स्वास्थ्यचौकीमै सुत्केरी गराउने बृहत अभियान सञ्चालन गरेको भए पनि यो चेपाङ गाउँमा यसको कुनै असर परेको छैन।

सूर्यमाया चेपाङले जन्माएको तीन बच्चा पनि घरमै हो। स्वास्थ्यचौकी जान नै अप्ठ्यारो भिरको बाटो भएकाले कोही पनि जान नसकेको गाउँकी अगुवाका रुपमा रहनुभएकी सूर्यमायाले बताइन्। 

जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल जिल्लाको सबै अवसर र सुविधाबाट बञ्चित भएको ब्रुसवाङको समस्या समाधानका लागि आफै हिँडेर गाउँ पुगेको थिए। चितवन र धादिङको सिमानामा रहेको ब्रुसवाङ महाभारतको सबैभन्दा उच्च ठाउँमा रहेकाले यहाँ जीवन अति नै  कष्टकर छ। रासस
 


 

More form the Internet

loading...