Suvadin, Home

बिरामीको मृत्युपछि उत्पन्न हुने परिस्थितिलाई कसरी रोक्ने ?

काठमाडौं । अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीको मृत्युपछि कतिपय अवस्थामा असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । अस्पतालका चिकित्सकमाथि लापरवाहीको आरोप लाग्छ । अनि प्रदर्शन र तोडफोडका घटना हुन पुग्छ ।

प्रहरीले हस्तक्षेप गरेरै घटना नियन्त्रण लिने अवस्था पटकपटक दोहोरिँदै आएको तितो यथार्थ छ । जिल्लामा मात्रै होइन राजधानी काठमाडौँमा समेत यस्ता घटना भइरहेका छन् । केही वर्षअघि चितवनमा घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघर निकालेर फ्याँकिएको विषयको निकै चर्चा भएको थियो तर सबै घटनामा चिकित्सकको लापरवाही पनि हुँदैन । 

यस्ता घटनापछि उत्पन्न हुने परिस्थितिलाई रोकेर कसरी कानुनी रुपमा समस्या समाधान गर्न सकिन्छ भन्नेतर्फ अहिलेसम्म कहिँकतैबाट ध्यान नपुगेका बेला काठमाडौँ महानगरपालिका–७ ले भने एउटा छुट्टै प्रयास थालेको छ । वडाध्यक्ष शुद्धकुमार डङ्गोल एउटा सन्देश जाओस् भनेर अस्पतालभित्र हुने यस्ता घटना रोक्ने प्रयास थालेको बताउछन् । 

उक्त वडा क्षेत्रमा समता अस्पताल, ओम अस्पताल, दीर्घायुगुरु अस्पताल हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, मेडिकेयरलगायतको अस्पताल छ । ती अस्पतालमा पटकपटक प्रदर्शन दोहोरिइरहेकाले कसरी रोक्न सकिन्छ भनेर पहल थालेको वडाध्यक्ष डंगोलले बताए । 

पछिल्लो एक महिनाको अन्तरालमा उक्त वडा भित्रपर्ने दुई अस्पतालमा मानिसको मृत्युको विषयलाई लिएर ठूलै प्रदर्शन भयो । प्रहरीले अश्रुग्यास प्रयोग गरेर आन्दोलित भिडलाई नियन्त्रणमा लिएको थियो । काठमाडौँको बौद्धस्थित समता अस्पतालभित्र यही असार ३ गते रामेछाप दोरम्बा घर भई सोही अस्पतालमा काम गर्ने २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । 

उक्त घटनापछि प्रदर्शन हुँदा अस्पताल तनावग्रस्त भयो । बिरामी र तिनका आफन्त मात्रै होइन, स्थानीयसमेत प्रभावित भए । आन्दोलन मत्थर पार्न प्रहरीले अश्रुग्यास नै हान्नु पर्‍यो । अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन ।

जेठको २९ गते काठमाडौँको चाबहिलस्थित ओम अस्पतालमा उपचारारत सिन्धुपाल्चोककी एक महिलाको मृत्युको विषयलाई लिएर आफन्तले प्रदर्शन गर्दा उस्तै परिस्थिति सिर्जना भयो । यसअघि पनि विभिन्न अस्पतालमा पटकपटक तोडफोडसहितको प्रदर्शन भएको थियो । जिल्लामा पनि यस्ता घटना दोहोरिँदै आएको छ । 

अस्पतालको लापरवाही नै भए पनि कानुनी उपचारको बाटो अपनाउनेतर्फ लाग्नुको सट्टा अस्पतालमै प्रदर्शन र वार्ता हुँदा भने त्यसले नकारात्मक असर पर्न सक्छ । वडाध्यक्ष डङ्गोल भन्छन्, “एउटा घटनामा म आफैँ पर्खाल नाघेर भाग्नुपर्ने अवस्था आयो, निर्दोष स्थानीयले गोली खानुपर्ने अवस्था आउन लाग्यो, त्यसैले यस्ता समस्यालाई कसरी सहीरुपमा व्यवस्थापन गर्ने भनेर पहल थालेको हुँ ।” 

अस्पताल संवेदनशील ठाउँ भएकाले शव राखेर अस्पतालमा नाराजुलुस गर्दा अरु बिरामीलाई असर गर्ने बताउँदै उनले भने, “अनुसन्धान गर्ने निकायलाई यसको जिम्मा दिउँ, सरकारका आधिकारीक निकायले घटनाको छानबिन गरी दोषीलाई कारवाही गरोस्, तर सेवाचाहिँ नरोकियोस् ।”

सोही विषयमा गौशालास्थित ७ नं वडा कार्यालयमा ति अस्पतालका प्रतिनिधि, प्रहरी प्रशासन र जनप्रतिनिधिको सहभागितामा छलफल गरिएको छ । छलफलमा जनप्रतिनिधि र प्रहरीसहित मेडिकेयर अस्पतालका प्रतिनिधि हरिभक्त सिग्देल, दीर्घायु गुरु अस्पतालका महेशराज उप्रेती, ओम अस्पतालका बाबुकाजी कार्की, हेल्पिङ ह्याण्ड अस्पतालका डा कृष्ण अधिकारीको सहभागिता थियो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँको प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालमा उत्पन्न हुनसक्ने परिस्थितिलाई कसरी न्यूनीकरण गर्ने र कानुनी बाटो अपनाउन लगाउने भन्नेमा नै छलफल केन्द्रित भएको बताए ।

यस्ता घटनामा पहिलो त अस्पताल जवाफदेही हुनैपर्छ । घटना हुनेबित्तिकै प्रहरी र वडा कार्यालयमा सूचना दिने, घटनाको जवाफ दिन आधिकारिक व्यक्ति राख्ने, चिकित्सक तथा विभिन्न निकायबीच संयुक्त रुपमा बनेका समितिलाई सक्रिय बनाउने विषयमा सबै एकमत भएका छन् ।

“केही नगर्नुभन्दा त केही न केही प्रयास गर्‍यो भने केही प्रतिशत भने पनि घटना न्यूनीकरण हुन्छ नि, अभियान वडाबाट सुरु भयो अब महानगरस्तरीय छलफल गर्ने भन्ने भएको छ, यसले केही सकारात्मक सन्देश जान्छ”, सुवेदीले भने । 


 

More form the Internet

loading...