Suvadin, Home
NMB Bank Ltd 275.4k

अन्तर्राष्ट्रिय मानव तस्करको नेपाल कनेक्सन
कपडा पसलमा मान्छेको मोलमोलाई

काँकडभिट्टामा किराना पसल गर्ने राजेश महत र उनकी पत्नी सबिना महत लत्ताकपडाको दोकान गर्दै आएका छन्। तर, उनीहरुको भित्री कृत्य अर्कै रहेको खुल्न आएको छ। ‘राजेश र सबिनाका गतिविधि पाँच वर्षयता निकै शङ्कापद छन्, हामीलाई त बोल्न पनि डर लाग्छ,’ झापा काँकरभिट्टाको प्यारीभिट्टाका एक सामाजिक अगुवा भन्छन्, ‘धेरै बालिकाहरू यिनीहरूको चङ्गुलमा परिसकेका छन्।’
संलग्नहरू।

काठमाडौं, पुस १७


भारतीय प्रहरीको सर्वाधिक सूचीमा रहेका नेपाली नागरिक शक्ति भण्डारीको आपराधिक र मानव तस्करी अन्तरराष्ट्रियको गिरोह नेपालमा पनि सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ।

झापाको मेचीनगर-१० काँकडभिट्टाका राजेश महत पक्राउ परेपछि मानव तस्करीको अन्तरराष्ट्रिय सञ्जाल नेपालमा पनि सक्रिय रहेको पुष्टि भएको हो।

पीडितको उजुरीका आधारमा महत पक्राउ परेपछि अनुसन्धान गरिरहेको प्रहरी टोलीले विभिन्न प्रमाणका आधारमा मानव तस्करीको गिरोह विभिन्न भेषमा सक्रिय रहेको खुल्न आएको हो।

के हो शक्ति समूह?

प्रायः दुबईमा बस्ने शक्ति भण्डारीले नेपाल, भारत, बंगलादेश र खाडी मुलुकमा मान्छे आपूर्ति गर्छन्। भण्डारीका सहयोगी रामु भण्डारी, रोहित भण्डारी, तपेन्द्रकुमार शाही, रमेश ठकुल्ला, स्वीकृति खरेल, हरिश शाहीलगायत छन्। 

भारतीय प्रहरीले उक्त गिरोहका रमेशकुमार ठकुल्ला, तपेन्द्र शाही, हरिश शाही, स्वीकृति खरेल र रोहित भण्डारीलाई गत अप्रिल महिनामा गिरफ्तार गरेको हो।

भारतीय प्रहरीले अन्य आरोपीलाई खोजिरहेको छ। ‘लागुपदार्थको ओसारपसारमा पनि उक्त समूह सक्रिय छ,’ दिल्ली प्रहरीका एक उच्च अधिकारीले शुभदिनसँग भने, ‘स्थान परिवर्तन गरेर अनैतिक गतिविधि सञ्चालन भइरहेको पाइएको छ।’

पक्राउ परेका अभियुक्तहरुलाई अहिले कारागारमै रहेका छन्। अन्य अभियुक्तको खोजीमा प्रहरी लागेको ती अधिकृतले बताए।

‘शक्ति समूह नामको उक्त गिरोह मानव बेचबिखनसँगै लागुपदार्थको ओसारपसारमा पनि सक्रियता देखिएको छ,’ उनले भने।

को हुन् राजेश महत?

काँकडभिट्टामा किराना पसल गर्ने राजेश महत र उनकी पत्नी सबिना महत लत्ताकपडाको दोकान गर्दै आएका छन्। तर, उनीहरुको भित्री कृत्य अर्कै रहेको खुल्न आएको छ।

‘राजेश र सबिनाका गतिविधि पाँच वर्षयता निकै शङ्कापद छन्, हामीलाई त बोल्न पनि डर लाग्छ,’ झापा काँकरभिट्टाको प्यारीभिट्टाका एक सामाजिक अगुवा भन्छन्, ‘धेरै बालिकाहरू यिनीहरूको चंगुलमा परिसकेका छन्।’

राजेश ट्याक्सी चालक हुन्। उनी किराना पसलसँगै ट्याक्सी चलाउने गर्छन्। राजेशकी पत्नी सबिना चाहिँ दोकानमा आउने ग्राहकलाई फकाइफुल्याइ गर्ने काममा सक्रिय छन्।

पति-पत्नीको यो  क्रियाकलापसँग समाजका केही बालिका जानकार छन्। धेरै बालबालिकालाई कपडा व्यापारी सबिनाले ‘इण्डियामा राम्रो कमाई हुने’ भन्दै जान प्रेरित गर्ने गरेकी छिन्।

‘काम नगर्ने, बेरोजगार र जिउडाल सुन्दर भएका युवती देख्नै हुँदैन,’ राजेशकी एक छिमेकीले भनिन्, ‘जे-जे दिएर हुन्छ, फकाउँन थालिहाल्छन्।’

उनका अनुसार काँकरभिट्टामा मात्रै राजेशको आपराधिक गिरोह सक्रिय छैन। झापाका अरु ठाउँमा पनि उनी पुग्ने गरेको र बेला-बेला राजेशको घर तिनीहरूको बैठकस्थल बन्ने गरेको उनी बताउँछिन्।

‘अपरिचित मान्छेको आवतजावत ठूलै हुन्छ, तर को हुन् के हुन् भनेर सोध्ने कुरा पनि आएन,’ उनले थपिन्, ‘राजेशको रावण रुप अहिले मात्रै छर्लङ्ग हुँदैछ।’  काँकडभिट्टा बसपार्कदेखि पश्चिमतर्फ गुराँस पथमा किराना र कस्मेटिक पसल गर्ने राजेश र सबिनाको अपराधको कालो कथा लामो छ।

राजेश र सविना संलग्न मानव तस्करको अन्तरराष्ट्रिय सञ्जालमा १ सयभन्दा धेरैको संलग्नता छ। उक्त गिरोहका पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। उक्त आपराधिक मानव तस्करीका सञ्जालका सदस्य राजेश महत चाहिँ जेठ २२ गते पक्राउ परेका हुन्।

राजेशलाई काँकरभिट्टाका सामाजिक अगुवा भनेर चिनिएका केही छद्मभेषीहरुको संरक्षण रहेको छ। उनीहरूले पीडितलाई दबाब दिएर राजेशलाई आरोपमुक्त गर्ने प्रयास पनि भएको छ। 

न्यायको मन्दिरमा पुगेपछि पनि उनी आफ्नो दुस्कर्ममा संलग्नै रहेको खुल्न आएको छ। मानव तस्करीको सञ्जालमा पतिपत्नी नै संलग्न रहेपनि प्रहरीले राजेशलाई मात्रै पक्राउ गरेको छ।

पहिलोपटक पक्राउ परेर छुटेका राजेश काँकडभिट्टाका सचेत नागरिक तथा महिला अधिकारकर्मीले आन्दोलन गरेपछि पुनः पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार अभियुक्त राजेश अहिले पुर्पक्षका लागि थुनामा रहेका छन्।

आवश्यक अनुसन्धानपछि सबै प्रमाण अदालत समक्ष बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दुर्गाराज रेग्मीले बताएका छन्। ‘हामीले सबै अनुसन्धान सकेर अदालतमा पेश गरेका छौँ, अबको काम अदालतकै हो,’ उनले भने।

मार्ग परिवर्तन

नेपालकी सीमा क्षेत्रमा सजगता र खबरदारी गर्न थालिएपछि अहिले मानव तस्करीको गिरोहले आफ्ना गतिविधिको शैली फेरेको छ। माइती नेपाल, रक्षा नेपाल, आमा समूह नेपाल तथा अन्य सामाजिक सङ्घ–संस्था र सर्वसाधारणले खबरदारी गरेपछि मानव तस्करीका गिरोहले शैली बदलेको छ।

‘सीमा क्षेत्रका नागरिक सचेत भएपछि मानव तस्करलाई अप्ठ्यारो पर्यो, त्यसैले अलिभित्रका सहर प्रयोग गरेको पाइएको छ,’ माइती नेपाल पूर्व क्षेत्रीय कार्यालयका प्रमुख गोविन्द घिमिरे भन्छन्, ‘तर, ती स्थानमा पनि सुरक्षाकर्मीको सहयोगमा निगरानी भइरहेको छ।’

नेपालका सीमा क्षेत्रमा तीन तहको सुरक्षा प्रबन्ध छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, माइती नेपाल, रक्षा नेपाल जस्ता संस्था सक्रिय छन्। शंकास्पद लागे तत्कालै प्रहरीलाई खबर गरिन्छ। प्रहरीले पनि तदारुकताका साथ चेकजाँच गरेर जोखिममा पर्न लागेको भए अभिभावक बोलाएर जिम्मा लगाइदिने गरेको छ।

‘कति त सीमा क्षेत्रबाटै पक्राउ पर्ने गरेका छन्,’ घिमिरेले थपे, ‘अहिले पनि आधा दर्जन अभियुक्तमाथि कानुनी कारबाही भइरहेको छ।’ उद्धार गरिएका चेलीबेटीको भनाईकै आधारमा माइती नेपालले खोजी र चेकजाँच गर्दै आएको छ।

प्रमुख घिमिरेले भने, ‘विभिन्न जिल्लाबाट ल्याउने, सीमा क्षेत्रमा राख्ने, अनि अनुकूलता हेरेर भारत लाने गरेको बयान पीडितहरुले दिएका छन्।’ उनका अनुसार मानव तस्करहरूले अन्य जिल्लाबाट ललाइफकाई ल्याइएका युवतीलाई शहरका होटलमा महिनौँसम्म राखेर भारत पठाउने गरेका छन्। ‘विवाहको बहानामै धेरै युवती फँस्न पुगेको देखिन्छ,’ उनले भने।

पक्राउ पर्दैनन् अभियुक्त

आर्थिक वर्ष २०७२/०७३ मा मानव बेचविखनमा संलग्न भएको अभियोगमा दस जनाविरूद्ध मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ।

१० जनामध्ये चार जना अभियुक्त फरार रहेका छन्। आर्थिक वर्ष २०७२/०७३ मा पक्राउ परेकी भारतको पश्चिम बंगालकी ४० वर्षीया मनमाया क्षेत्रीमाथि मानव तस्करीको अभियोगमा मुद्दा चलाइएको छ।

त्यसैगरी, मानव तस्करीमा संलग्न भएको अभियोगमा झापा मेचीनगर-४ का राजेशकुमार राय र सोही ठाउँका इन्द्र राय, मेचीनगर-१० काँकरभिट्टाका राजेश महत, कोहबरा घर भई लखनपुर-१ बस्ने दलबहादुर नेम्वाङ उर्फ प्रकाश, नुवाकोटको रातमाटेका कृष्णबहादुर दर्जी, नुवाकोट घ्यामफेदीका सोनम तामाङ र सोही ठाउँका राजु तामाङ पक्राउ परेका छन्।

उनीहरूमाथि मानव तस्करीमा संलग्न भएको अभियोगमा मुद्दा चलाइएको छ। सबै अभियुक्तमाथिको मुद्दाको फैसला हुन बाँकी छ। उनीहरुलाई पुर्पक्षका लागि थुनामा राखिएको छ। फरार अभियुक्तको खोजी भइरहेको छ।

 

More form the Internet

loading...