Suvadin, Home

निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानवीन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारी र निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घर अनुगमन गरेको छ। टोली आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
निर्मला हत्यामा संलग्नलार्इ कारबाहीको माग गर्दै स्थानीयले गरेको प्रदर्शन।

कञ्चनपुर, १० भदौ – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानवीन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारी र निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घर अनुगमन गरेको छ।

दुई दिनअघि छानविनका लागि कञ्चनपुर आइपुगेको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको हो।

टोली आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। 

यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए। 

आन्दोलनरत पक्षले बमको घरमा बढी अनुसन्धान केन्द्रित हुनुपर्ने र मानसिक सन्तुलन गुमाएका व्यक्तिले बलात्कारी गरी हत्या नगरेको दाबी छ।

भीमदत्तनगरमा जिल्ला प्रशासनले स्थिति जटिल बन्न नदिन लगाएको कर्फ्यूका बीच छानबिन समिति अनुसन्धानमा जुटिरहेको छ। छानवीन समितिसहित स्थानीय प्रशासनले आन्दोलन बन्द गरेर छानबिन सहज बनाउन आग्रहसहित यहाँका सर्वदलीय–सर्वपक्षीय बैठक डाकेको थियो। 

सोही घटनाको यथार्थ छानवीनको माग गर्दै प्रदर्शन गर्दा शुक्रबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय शन्नी खुनाको गोली लागेर मृत्यु भएको थियो। सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणापछि महाकाली नदीमा उनको दाहसंस्कार गरिएको छ। 

कर्फ्यूको तालिका फेरियो

कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यू खुलाइएको छ। 

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यूको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिएका हुन्। 

विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको छ। प्रशासनले शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्य गर्न कर्फ्यू लगाउन थालेको हो। 

भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यू लगाइँदै आएको छ। भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच घण्टा कर्फ्यू हटाइएको थियो। सोमबारसम्म तोकिएको समयसीमा बाहेकको समय कर्फयु यथावत् रहनेछ।


 

More form the Internet

loading...