Suvadin, Home

Cover Image

अमेरिकी सांसदको भ्रमणमा इजराइलको रोक 

जेरुसेलम । इजरायलले अमेरिकाका दुई जना विपक्षी सांसदले गर्न लागेको भ्रमणमा रोक लगाएको छ । विपक्षी डेमोक्र्याट सांसद इल्हान ओमार र रशिदा त्लइबले इजरायल भ्रमण गर्न लागेका थिए । उनीहरुको भ्रमण तय भइसकेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै ती दुई सांसदलाई भ्रमण गर्न दिएमा इजरायलको ठूलो कमजोरी हुने बताएका थिए । उनले उनीहरुलाई इजरायल भ्रमणमा रोक लगाउन समेत आग्रह गरेका थिए ।

गएको महिना अमेरिकाका लागि इजरायलका राजदूत रोन डर्मरले  ती सांसदलाई इजरायल भ्रमणको अनुमति दिइने बताएका थिए ।  इजरायलले आफूलाई कम आँक्ने अभियानका समर्थकहरुलाई भ्रमणमा रोक लगाउने गरेको छ । विगतमा अमेरिकाका ती दुवै सांसदहरुले अभियानको रुपमा त्यसखालका गतिविधिमा संलग्नता देखाउँदै आएका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पको इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुसँग राम्रो सम्बन्ध रहँदै आएको छ । ट्रम्पले केही साता अघि अहिले इजरायल जान रोकिएका सांसद समेतलाई आफू आएकै देशमा फर्किन समेत आग्रह गरेका थिए । 

ट्रम्पले बिहीबार गरेको ट्विटमा उनीहरुले इजरायल र यहुदीहरुलाई घृणा गर्ने गरेको  र उनीहरुको दिमागलाई परिवर्तन गर्नका लागि केही पनि गर्न नसकिने समेत जनाएका छन् ।  अमेरिकी मिडियाले जनाए अनुसार दुवै सांसद आउँदो आइतबार त्यसतर्फ जान लागेका थिए । उनीहरु इजरायलमा रहँदा संवेदनशील क्षेत्र मानिने जेरुसेलम टेम्पल माउन्टमा जान खोजेका थिए । उनीहरुले इजरायली र प्यालेस्टाइनी शान्ति अभियन्ता लगायतसँग भेट गर्ने कार्यक्रम रहेको थियो । - बीबीसी
 


 

More form the Internet

loading...