Suvadin, Home

विश्व सम्पदा सूचीमा किन पारिएन जानकी मन्दिर?

जानकी मन्दिरलाई स्थानीय स्तरबाट समेत विश्व सम्पदामा सुचिकृत गराउनको लागि पहल हुँदै आए पनि सरकारले नै यसमा पहलकदमी नलिएको गुनासो छ। जनकपुरको मध्य भागमा १ सय ५० वर्ष भन्दा पुरानो जानकी मन्दिर विश्वका सबै हिन्दुहरुको लागि आस्थाको केन्द्र हो।
जानकी मन्दिर।

जनकपुर, चैत २१– मिथिलाञ्चलको प्राचीन राजधानीको रुपमा रहेको जनकपुरको ऐतिहासिक जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन स्थानीयबासीले सरकारसँग आग्रह गरेका छन्। 

जानकी मन्दिरलाई स्थानीय स्तरबाट समेत विश्व सम्पदामा सुचिकृत गराउनको लागि पहल हुँदै आए पनि सरकारले नै यसमा पहलकदमी नलिएको गुनासो छ। जनकपुरको मध्य भागमा १ सय ५० वर्ष भन्दा पुरानो जानकी मन्दिर विश्वका सबै हिन्दुहरुको लागि आस्थाको केन्द्र हो।

सिताको जन्म भूमि र लिलाभूमि समेत रहेको जनकपुर विश्वभरि नै पवित्र धार्मिक स्थलमा रुपमा परिचित छ। करिब ४ सय वर्षको ईतिहास बोकेको यो शहर र एक सय ५० वर्षभन्दा माथिको इतिहास बोकेको जानकी मन्दिर भने अहिलेसम्म विश्व सम्पदा सूचिमा सूचिकृत हुन सकेको छैन।

यसका लागि स्थानीय स्तरबाट हुने गरेको पहल पनि फगत गफ सिवाय अरु केही नभएको टिप्पणी हुन थालेको छ । जानकी मन्दिरमा दर्शन गर्न टाढा टाढाबाट श्रद्धालुहरु आउने गरेका छन।

अनेकौंपटक जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनका लागि अभियानहरु सञ्चालन गरिएको भए पनि यसले ठोस रुप लिन सकेको छैन। यसका लागि निरन्तर प्रयास हुनुपर्ने स्थानीयको भनाइ छ।

जानकी मन्दिरलाई ट्रष्टको रुपमा विकास गरेर विश्व सम्पदा सूचीमा सुचिकृत गराउनुपर्ने माग स्थानीय बुद्धिजीविहरुले गरेका छन्। अहिले यो मन्दिर नौलाखा, जानकी भवन र शिशमहल नामले पनि प्रख्यात छ।

मुगल वास्तुशैली र हिन्दु वास्तुशैलीको अनुपम संगमबाट बनेको यो मन्दिरले वास्तु कलाकारिताको विलक्षण प्रतिभालाई उजागर गर्दछ। सीताको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरमा बनाइएको मन्दिरको सुन्दरता र भव्यता आफैंमा विशिष्ट रहेको छ।

मिथिला शब्दलाई स्वयममा मोक्ष र पुण्यदायक मानिने चलन भएका कारणले पनि जानकी मन्दिरको नित्य नाम लिँदा पनि सर्वपाप नाश हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।
४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ।

पूर्वतर्फ फर्किएको मन्दिरको शोभा चारैतिरका ठूला र साना गुम्बजहरुले सजाइएको छ भने चारैतिर विभिन्न रंगका रंगीचंगी फूलबुट्टाले सिंगारिएको छ। यस मन्दिरमा ६० वटा कोठा रहेका छन्।

यीमध्ये शिश गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ। चारै कुनामा ३/३ वटाका दरले बनाइएका बाह्रवटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर, अर्धवृत्र आकारको प्रवेशद्वार र प्रवेशद्वारको दुवैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको देखिन्छ।

यस स्थानका परिचय दिने श्रेय यस मन्दिरका पहिलो महन्त शुरकिशोर दासलाई दिइन्छ। प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुर रहेको स्थल नै हो भनी पहिचान गराउने श्रेय पनि यिनै महन्तलाई दिइन्छ।

वर्तमान जानकी मन्दिर रहेको स्थानमा पहिले एउटा निमको रुख थियो। १७ औं शताब्दीको अन्त्त्यतिर सोही स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए । यिनलाई त्यसैबखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो पिताको दरबार रहेको थियो भनेर बताएको जनश्रुति पाइन्छ।

त्यसपछि महन्तले त्यस स्थानमा एक झुपडी बनाई पूजाआजा गर्न थाले। यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो र मानिसहरु घनाजंगलभित्र रहेको स्थानमा पूर्णिमा तथा पवित्र पर्वहरुको अवसरमा यहाँ आई स्नान र पूजाआजा गरी फर्कन्थे।

स्थानीयले यसलाई विश्व सम्पदामा सुचिकृत गराउनको लागि सरकारीस्तरबाट समेत प्रयास हुनुपर्नेमा जोड दिएका छन्। राजा मणिकसेनले वि.सं. १७८४ मा एक हजार ४ सय बिघा सीतारामको भोगरागका लागि जमिन दान गरेका थिए।

यस्तै विक्रम सम्वत् १७९० साल फागुन ७ गतेका दिन हेमकर्ण सेनले जग्गाको सिमाना गुठी थामिदिएको र नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहबाट सो जग्गा कुशविर्ताकै रुपमा उपलब्ध गराएको विसं १८६७ सालको गिर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लेख छ।

यसै लालमोहरबाट गिर्वाणयुद्ध विक्रम शाहले विर्ता पक्का ठहराई चार किल्लाको सिमाना तोकी जानकीको नित्य पूजा र सदाव्रत चलाएको र शिष्य परम्पराअनुसार भोग गर्ने आदेश दिएको बताइन्छ।

यसै आदेशबाट राजगुठीअर्न्तगत पूर्णरुपमा स्वतन्त्र भई गुरुशिष्य परम्परागत चलिआएको र सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा रहेको देखिन्छ। सो मन्दिरको निर्माणको सन्दर्भमा स्थानीय किम्बदन्ती अनुसार भारतका टिकमगढका एक राजा यस क्षेत्रतर्फ शिकार खेल्न आएका बखत यहाँको ख्याति सुनी आफ्नी रानीलाई लिई एकदिन तीर्थ गर्न भनी यहाँ आए।

ती राजा निःसन्तान थिए। यिनकी रानीले पुत्र प्राप्त गरेमा  नौ लाख लगाई एक भव्य मन्दिर बनाउने बाचा गरिन्। कालान्तरमा रानीलाई पुत्र प्राप्त भए र उनले नौ लाख लगाई यो मन्दिर निर्माण गराएका कारण यसको अर्को नाम नौलाखा रहन गएको हो।

जनकपुरको प्रसिद्ध जानकी मन्दिर सारा विश्वका हिन्दुहरुको आस्थाको केन्द्र रहेको छ। यसको विकास र सम्बर्द्धन तथा विश्व सम्पदामा सूचीकृत गराउनको लागि राज्यले समेत अपनत्व ग्रहण गर्नुपर्ने आवश्यकता छ। यसका लागि चाहिने आवश्यक संरचनाको विकास गरेर जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराइए जनकपुरमा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने निश्चित छ।


 

More form the Internet

loading...