Suvadin, Home

Cover Image

मध्यरातमा राजपा अध्यक्षमण्डलका सदस्य र जयशंकरबीच भेटवार्ता 

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वबीच बुधबार राति दुई घण्टा भेटवार्ता भएको छ। द्वारिकाज होटलमा राति करिब ११ बजेसम्म भएको भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेताहरूले बताएका छन्।

भेटमा राजपा अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनिल झा सहभागी थिए। भारतीय पक्षबाट विदेशमन्त्री जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी थिए।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले दुई देशको सम्बन्धबारे छलफल भएको बताए। 'नेपाल भारत सम्बन्धबारे चर्चा भयो। उहाँले भारतको पछिल्लो अवस्थाबारे कुरा राख्नुभयो', यादवले भने, 'हामीले प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि बधाई दियौँ।'  

भेटमा अरु राजनीतिक विषयमा छलफल भए नभएकोबारे नेताहरूले बताउन चाहेनन्। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले दिउँसो १२ बजे नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीबाट राजनीतिक भेटघाट सुरु गरेका जयशंकर दिउँसो आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्कने कार्यक्रम छ।


 

More form the Internet

loading...