Suvadin, Home

चीनको अमेरिकालाई आग्रह - व्यापार युद्ध होइन, वार्ता गरौं

काठमाडौं । चीनले अमेरिकालाई व्यापार युद्ध नभई वार्ता गर्न प्रस्ताव गरेको छ । व्यापार युद्धले अमेरिका र चीनलाई मात्र नभई संसारलाई नै बेफाइदा हुने भन्दै चीनले वार्ताको प्रस्ताव गरेको हो । तर वार्ता बराबरी जितको हैसियतमा र विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्ने चीनको शर्त छ ।

चीनको राज्य परिषद सूचना कार्यालयले श्वेतपत्र जारी गर्दै वार्ताका लागि प्रस्ताव गरेको हो । श्वेतपत्रमा प्रयोग भएका शब्दहरु कतै अमेरिकाप्रति आक्रामक र कतै नरम देखिन्छन् ।

यदि अमेरिकाले व्यापार युद्धलाई नरोके चुनौतीलाई अवसरमा बदल्दै चीनको इतिहासमा नयाँ अध्याय स्थापित गर्न आफू प्रतिबद्ध रहेको चीनले जनाएको छ । त्यसका लागि चीन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने श्वेतपत्रमा उल्लेख छ ।

चीन-अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा जारी गरिएको श्वेतपत्रमा सन् २०१७ देखि नै ट्रम्प प्रशासनले मुख्य व्यापारिक साझेदारलाई उनीहरुका सामानमा थप महशुल र अतिरिक्त शुल्क लगाउने धम्की उत्तेजना फैलाएको उल्लेख छ ।

वर्तमान अमेरिकी प्रशासनले ‘अमेरिका फस्ट’ भन्ने नारा अघि सार्दै एकपक्षीय रुपमा संरक्षणवादलाई प्रवर्द्धन गरेको चीनको आरोप छ । अमेरिकाले अपारदर्शी, एकतर्फी र अहिले भइरहेका विश्वव्यापी मानकहरुविपरित संरक्षणवादलाई प्रवर्द्धन गर्दै व्यापार युद्ध घोषणा गरेको चीनको भनाइ छ ।

खासगरी हुवावे काण्डपछि अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था छ । सूचना प्रविधिमा चीनको अग्रणी कम्पनी हुवावेले आफ्ना उत्पादनलाई जासुसी गर्न उपयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ र चीनले त्यसको खण्डन गर्दै आइरहेको छ । चिनियाँ स्टिल र आल्मुनियममाथि गरिएको भारी कर वृद्धिको करिव एक महिनापछि सन् २०१८ जुलाई १५ मा ट्रम्पले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा लाग्ने करमा २५ प्रतिशत वृद्धिको घोषणा गरेका थिए ।

विगत हेर्ने हो भने अमेरिका त सन् २००८ देखि चीनसँग सबैभन्दा बढी ऋण लिएको राष्ट्र हो । सन् २००८ देखि सुरु भएको अमेरिकी अर्थतन्त्रको संकट टार्न अमेरिकाको एक ट्रिलियन ‘ट्रेजरी बिल’ समेत चीन एक्लैले किनिदिएको थियो ।

विश्व आर्थिक मन्दीपछि अमेरिकी अर्थतन्त्र जोगाउन चीनले सबैभन्दा बढी सहयोग गर्‍यो । सन् २००८ को आर्थिक संकटको पूर्वार्द्धमा विश्वको कूल गार्हस्थ उत्पादनमा अमेरिकाको हिस्सा २० प्रतिशत र चीनको १३ प्रतिशत थियो ।

सन् २००८ मा झन्डै विघटन हुन लागेको आफ्नो अर्थतन्त्र जोगाउन त्यत्रो सहयोग गरेको चीनलाई त्यसको एक दशक पछाडि नै अमेरिकाले व्यापार युद्धमा आमन्त्रण गरिरहेको छ ।

श्वेतपत्रमा लेखिएअनसार सन् १९७९ मा अमेरिका र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बेलामा दुई देश बीचको व्यापार जम्मा २.५ बिलियन डलर थियो भने सन् २०१८ मा आइपुग्दा दुई देशबीच ६३३.५ बिलियन डलरको व्यापार पुगेको छ ।

सन् २०१८ मा अमेरिका चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने निर्यात बजार छैटौं सबैभन्दा ठूलो आयात गर्ने बजार हो । त्यसैगरी चीन अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार, तेस्रो ठूलो निर्यात बजार र सबैभन्दा ठूलो आयातकर्ता मुलुक हो ।

पछिल्लो व्यापार युद्धले चीनको विकासमा चुनौति आइपर्ने विश्वव्यापी अनुमानस्वरुप नै चीनले आफ्नो विकास सरल रुपमा अगाडि नबढ्ने कुरा स्वीकार गरेको छ । ‘थप कठिनाइहरु देखापर्ने निश्चित छ तर भविष्यमा आइपर्ने जुनसुकै चुनौतिहरु पनि सामना गर्नको लागि चीन दृढ छ,’ श्वेतपत्रमा लेखिएको छ, ‘चुनौतीलाई अवसरमा बदल्दै चीनको इतिहासमा नयाँ अध्याय स्थापित गर्न चीन सरकार प्रतिबद्ध छ ।’

अमेरिकाले एकतर्फीरुपमा आर्थिक तथा व्यापारिक अवरोध गरेपछि त्यसको प्रतिउत्तरमा केही बाध्यकारी कदमहरु चाल्ने चेतावनी चीनले दिएको छ र त्यो कदम चिनियाँ जनताको निम्ति हुने स्पष्ट पारेको छ ।

अमेरिका र चीन सँगसँगै अगाडि बढेमा दुई देशलाई मात्र होइन, संसारलाई लाभ हुने श्वेतपत्रमा उल्लेख छ । सो दस्तावेजमा लेखिएको छ, ‘अमेरिकाले अहिले लागू गरेको अतिरिक्त शुल्क चीनको लागि पनि राम्रो छैन र अमेरिकाका लागि पनि फाइदाजनक छैन । सारा संसारको लागि झन् खराब छ ।’


 

More form the Internet

loading...