Suvadin, Home

Cover Image

कसैले मेराे छाेरालार्इ भेट्नु भयाे भने याे सन्देश सुनाइदिनु!

वियोगान्त कथाहरु कहिलेकाँही मानिसलाई निडरताका साथ अघि बढ्न प्रेरित गर्ने हुन सक्छन्। जीवनमा उनले भोगेका हरेक पलहरु सुखदायी थिएनन्, तर त्यसले जीजिविषालाई अविरल बग्न सहारा दिइनै रह्यो। जीवनभर दुःख सहँदा पनि उनी अविचलित कहिल्यै बनेनन्। न त दुःखसँग भागे, मात्र गरिरहे संघर्ष। मेचीनगर–४ बाहुनडाँगीका ७९ वर्षीय पदमबहादुर कार्की यस्तै वियोगान्त कथाबाट गुज्रिएका एक पात्र हुन्।
पदमबहादुर कार्की। तस्वीरः देबु बानियाँ/शुभदिन

देबु बानियाँ, झापा, १७ माघ – वियोगान्त कथाहरु कहिलेकाँही मानिसलाई निडरताका साथ अघि बढ्न प्रेरित गर्ने हुन सक्छन्। जीवनमा उनले भोगेका हरेक पलहरु सुखदायी थिएनन्, तर त्यसले जीजिविषालाई अविरल बग्न सहारा दिइनै रह्यो। जीवनभर दुःख सहँदा पनि उनी अविचलित कहिल्यै बनेनन्। न त दुःखसँग भागे, मात्र गरिरहे संघर्ष।

मेचीनगर–४ बाहुनडाँगीका ७९ वर्षीय पदमबहादुर कार्की यस्तै वियोगान्त कथाबाट गुज्रिएका एक पात्र हुन्। जसले काँकरभिट्टा बसपार्कमा पाउरोटी बेचेको निरन्तर ३३ वर्ष भएको छ। जसको सिङ्गो जीवन नै पाउरोटीसँगको संघर्षको कथा बनेको छ। काँकरभिट्टालाई ३३ वर्षदेखि पाउरोटी खुवाउने ‘कार्की बा’लाई अहिलेसम्म कुनै कलमले लेखेनन्, कुनै क्यामराले उनलाई देखेन।

उनलाई जीवनमा ठूलै केही गरुँला भन्ने सपना छैन। ‘एक्लो जीवन जिउँन हो, शरीरले थेगिन्जेल काम गर्छु’, काँकरभिट्टाको बसपार्कमा पाउरोटी बेचिरहेका कार्कीले भने – ‘जुन दिनदेखि काम गर्न सक्न छोड्छु, देखैजाला, केही त कमाएको छु नि।’

श्रीमतीको निधन अनि बेपत्ता छोराको पीडामा रहेका कार्की बा यही परिवेशमा आफ्नाे जीवन चक्र चलाइरहेका छन्।

उनकी श्रीमती फुलमाया कार्की ३५ वर्ष अघि बितिन्। छोरा ज्ञानबहादुर कमाउन भनी हिन्दुस्तानतिर भासिए, फर्केर आएनन्। ‘कमाउन जान्छु भनेर हिँडेको थियो’, ग्राहकको हातमा भुक्के पाउरोटी थमाउन भ्याइ–नभ्याइ भएका ‘कार्की बा’ले मलिन मुखाकृति बनाउँदै भने – ‘कुनै अत्तोपत्तो छैन, १९ वर्षको उमेरमा मलाई एक्लै छोडेर हिँडेको थियो।’ 

उनलार्इ ज्ञानबहादुर कहाँ र कुन अवस्थामा छन् त्यसको कुनै जानकारी छैन। श्रीमतीको निधन अनि बेपत्ता छोराको पीडामा रहेका कार्की बा यही परिवेशमा आफ्नाे जीवनको चक्र चलाइरहेका छन्।

काँकरभिट्टाका विकास देवकोटाले एकदिन ‘कार्की बा’को बारेमा बेलिविस्तार लगाएपछि म उनको जीवनलाई नियाल्न निरन्तर ४ दिन बसपार्क धाएँ। तर, उनीसँग गत बिहीबार मात्र भलाकुसारी गरेँ। ‘समाचारमा लेख्छु’ भनेपछि मात्र उनी मनको बह फुकाउन तयार भए। उनी आफ्नो जीवनका हरेक भोगाइका पाना पल्टाउँदै जान्थे, म तरङ्गित हुँदै कुराकानी टिप्दै गर्थें। उनको कथा सुन्दै जाँदा कोही बेला मन ढक्क फुल्थ्यो। बोल्दै जाँदा उनका आँखाहरु रसाइरहेका हुन्थे।

‘कति रुवाउनु, अहिलेसम्म मनमै गुम्सिएका पीडा कति खोतल्नु’ जस्तो लाग्थ्यो घरिघरि। पाउरोटी किन्न आइरहने ग्राहकले उनको ध्यान भङ्ग गर्थ्याे। क्यामराबाट ल्यापटपमा तस्वीर ट्रान्सफर गरे जसरी म उनको वियोगान्त इतिहास कापीमा सारिरहेको थिएँ।

बिहान ३ बजे उठ्ने, ५ बज्दा पसलहरुमा पाउरोटी र बिस्कुट पुर्याउने र ६ बज्दा काँकरभिट्टा बसपार्कमा पुगेर बिस्कुट बेच्न थाल्ने उनको दिनचर्या झमक्कै साँझ नपर्दासम्म रोकिदैनथ्यो। बैँसका बेला मिठो खानेकुरा कर गरीगरी खुवाउने पत्नी र बेपत्ता छोरोको सम्झनाले उनलाई हरपल बेचैन तुल्याउँदो होला। म कल्पना गर्छु उनको पीडा। काँकरभिट्टालाई भोको देख्न नचाहने उनी कयौं रात भोकै बसेका छन्। कति दिन चाउचाउको भरमा काटेका छन्। जति बेला पनि उनलाई बाहुनडाँगी स्टेन्डमा पाउरोटीको ठेलामा भेटिन्छन्।

वि.सं. १९९५ सालमा ओखलढुङ्गामा जन्मिएका उनी २०१६ सालमा झापा बसाई सरेर आएका थिए। केही वर्ष उनले लक्ष्मीनारायण मन्दिर अगाडि पान पसल पनि सञ्चालन गरे। उनी काँकरभिट्टा एउटा जीवित इतिहास मध्येका एक हुन्। उनले काँकरभिट्टाको अँध्यारो र उज्यालो दुबै इतिहासलाई नजिकबाट नियालेका छन्। 

ग्राहकले दिएको पैसा धेरैबेर नियालेर हेर्नुपर्छ। २ पटक आँखाको शल्यक्रिया गरे। भन्छन् – ‘यो आँखा मभन्दा बुढो भएछ कि क्या हो।’

३३ वर्षको अवधिमा मेचीमा थुप्रै पानी बग्यो। काँकरभिट्टाले आफुलाई थुप्रै परिवर्तन गरेको छ। साना झुप्रा टहराहरु थिए। अहिले सबै महल बनेका छन्। जुन ठाउँहरुमा जङ्गल थियो। अहिले सबै वस्ती बसेको छ। उनी आउँदा जवान थिए। जस्तोसुकै काम गर्ने हिम्मत र उत्साह थियो। अहिले बृद्ध र अशक्त बनेका छन्। तर, यति लामो समयमा उनले आफ्नो जीवनमा कुनै परिवर्तन गराउन सकेनन्। जे थियो त्यसबेला त्यही छ अहिले पनि। एउटा ठेला, अनि ठेलामाथि पाउरोटी।  

उनका आँखाले भेउ पाउन छाडेको छ। ग्राहकले दिएको पैसा धेरैबेर नियालेर हेर्नुपर्छ। २ पटक आँखाको शल्यक्रिया समेत गरे। भन्छन् – ‘यो आँखा म भन्दा बुढो भएछ कि क्या हो।’

उनको अर्काे भित्री कथा छ । उनको थाकथलो बाहुनडाँगी भए पनि २६ वर्षदेखि काँकरभिट्टालाई नै कर्मथलो बनाएर बसेका छन् । बाहुनडाँगीमा आफ्नो भाई, बुहारी, भतिज तथा नाती नातिनी छन् । उनीहरु सबैले ‘कार्की बा’लाई औधी माया गर्छन् । उनी पनि समय समयमा छोरी माइत गएझैँ गरेर कोसेलीपात बोकेर जाने गरेका छन् । 

यो वर्षको दशैं र तिहार परिवारसँग बसेर बाहुनडाँगीमा मनाए । आउँदो माघ २४ गते फेरि उनकै भाषामा माइत जाने साइत जुरेको छ रे । नातिनीको बिहेमा जाने भाकल छ उनको । कार्कीले शुभदिनसँग भने – ‘नातिनीको बिहेका लागि खर्चपात पनि जुटाइसकेको छु ।’ 

उनी बेलुकाको खाना उद्योगमा खान्छन् । बिहान चिया र पाउरोटी खाएर काम चलाउँछन् । दिउँसो थोरै खाना खान्छन् ।  

उनी काँकरभिट्टाको शर्मिला पाउरोटी उद्योगले उत्पादन गरेको पाउरोटी बेच्छन् । उनको बस्ने र खाने बन्दोबस्त उद्योगका सञ्चालक गोपाल बुढाथोकीले नै गरिदिएका छन् । विगत २६ वर्षदेखि उनी त्यही उद्योगमा बस्दै आएका छन् । बुढाथोकीलाई उनी मालिक भन्छन् ।

‘मलाई मालिकले धेरै माया गर्नु हुन्छ’, रसिला आँखाले हेर्दै उनले भने – ‘दुःखमा पनि साथ दिनु भएको छ ।’ उनी बेलुकाको खाना उद्योगमा खान्छन् । बिहान चिया र पाउरोटी खाएर काम चलाउँछन् । दिउँसो थोरै खाना खान्छन् ।  

एक पटक बुढाथोकीको घरमा खसीको मासु पकाइएको रहेछ । कार्की बा बाहुनडाँगी गएका थिएँ । तर, बुढाथोकी उनलाई लिन बाइक लिएर बाहुनडाँगी नै पुगेछन् । 
कुराकानीकाे अन्त्यमा छाेराकाे अवस्थाका बारेमा कार्कीले चिन्ता व्यक्त गर्दै शुभदिनसँग भने – 'भारततिर जाँदा कसैले कही मेराे छाेरालार्इ भेट्नु भयाे भने याे सन्देश सुनाइदिनु हाेला।' 

कार्की बाले पाउरोटी बेचेर मासिक १० देखि १५ हजार रुपैयाँ कमाउँछन् । उनले कमाएको करिब ५ लाख रकम नेपाल बहुउदेश्यीय सहकारी (एनएमसी)मा जम्मा गरेका छन् । उनी एनएमसी बैङ्क २०५० सालमा स्थापना गर्दाका सदस्य हुन् । बैङ्कको रेकर्डमा उनले भतिज कुमार कार्कीलाई हकवालाका रुपमा राखेका छन् ।

एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती कार्की बालाई कर्मशील व्यक्ति भन्न रुचाउँछन् । ‘कार्की बाबाट हामी सबैले प्रेरणा लिनु पर्छ’ – उप्रेती भन्छन् ।

उनलाई काँकरभिट्टा बसपार्कमा माया गर्ने र साथ दिने थुप्रै मान्छे छन् । त्यस मध्येका एक शत्रुधन पोखरेल पनि हुन् । उनी यातायातमा काम गर्छन् । ‘कार्की बा साह्रै असल हुनुहुन्छ’ – पोखरेल भन्छन् ।


 

More form the Internet

loading...