Suvadin, Home

जिरीखिम्ती-मोराहाङ सडक स्तरोन्नति हुँदै

तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ। करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए।
जिरीखिम्तीको ग्रामीण सडक।

तेह्रथुम, वैशाख ५ - तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ। करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए।

उक्त सडक आगामी भदौ महिनाभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चजङ्घा, पाण्डुकेशर र वाइपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ। निर्वाचन क्षेत्र सडकअन्तर्गत पाँच करोड रूपैयाँ लागतमा सडकको स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए।

यस वर्ष छ किलोमिटर ग्राभेलसहित नाली निर्माण, ग्याभिङ, फिलिङलगायत निर्माणका काम गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। सडक निर्माणपछि यहाँका जिरीखिम्ती, आम्बुङ, मोराहाङ, श्रीजुङ, पौठाकलगायत गाउँबासीलाई सदरमुकाम म्याङलुङ तथा पूर्वी तराईसम्म पुग्न सहज हुने जिरीखिम्तीका श्रीप्रसाद कार्कीले बताए।

सडक मर्मत पछि यहाँको उत्पादन अलैंची, अम्लिसो, अकबरे, अदुवा, तरकारीलगायत निकासी गर्न समेत सजिलो हुने मोराहाङका कृषक नरेन्द्र खापुङले बताए। सडक मर्मतले मोराहाङ बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत सस्तिने छ। सडक ट्रयाक ओपनजस्तै नियमित मर्मत र स्तरोन्नतिमा पनि ध्यान दिन सम्बन्धित निकायलाई स्थानीय आग्रह गर्छन्।

जिरीखिम्तीदेखि मोराहाङ जोडिने सडक जिल्ला विकास समिति, गाविस र सांसद विकास कोषको बजेटबाट ट्रयाक ओपन भएको थियो। सडक डिभिजन कार्यालयले सडकको चौडा विस्तारदेखिको काम मात्रै लिएको इन्जिनियर श्रेष्ठले बताए। रासस


 

More form the Internet

loading...