Suvadin, Home

Cover Image

कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

एक तथ्यांकले देशमै सबैभन्दा बढी ३० हजार हेक्टर वन कैलालीको अतिक्रमणमा परिसकेको छ। अवैध काठ तस्करी हुनेमा पनि कैलाली शिर्ष स्थानमै पर्छ। 

लोक देउवा 
कैलाली,२६ फागुन -
कैलालीमा मुलुककै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण हुने गरेको तथ्यांकले देखाएको छ। कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्दै आएका छन्।

तर ब्यबहारतः तस्करी मौलाउँदै गएको छ। एक तथ्यांकले देशमै सबैभन्दा बढी ३० हजार हेक्टर वन कैलालीको अतिक्रमणमा परिसकेको छ। अवैध काठ तस्करी हुनेमा पनि कैलाली शिर्ष स्थानमै पर्छ। 

अतिक्रमण मात्र होइन वनकर्मी, सामुदायिक वनका पदाधिकारी र केही राजनीतिकर्मी मिलेर वनको जग्गा बिक्री पनि गरिरहेको विवरण आइरहन्छन्। 

प्रदेशको अस्थायी मुकाम धनगढी बजार क्षेत्रका सबैजसो खोलानाला, सार्वजनिक जग्गा अतिक्रमण भइसकेका छन्।चुरे पहाडसँग जोडिएका कैलालीका अधिकांश क्षेत्रमा काठ तस्करी मौलाउँदो छ। इलाका र सेक्टर वन कार्यालयका कर्मचारीकै मिलेमतोमा वनबाट काठ तस्करी मौलाएको हो।

विभिन्न सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि समेतको मिलेमतोमा काठका ठेकेदारले रातारात वन सखाप पारेका छन्। कमिसनको जालो वन रक्षक देखि इलाका,सेक्टर हुँदै डिभिजनसम्मका हाकिमसम्म पुग्ने गरेको स्थानीयको दावी छ।

पूर्वको चिसापानी देखि पश्चिमको अत्तरियासम्मको पूर्व पश्चिम राजमार्गमाथि चुरे क्षेत्रमा ब्यापक वन तस्करी हुँदा समेत जिल्ला वन कार्यालय निरिह बनेको छ।

कतिपय अवस्थामा वन तस्करीमा संलग्न केही ब्यक्ति पक्राउ परेपनि राजनीतिक दबाव र आर्थिक चलखेलमा छुट्ने गरेका छन्।  सामान्य तस्करीमा एक लाख देखि ठूलो तस्करीमा १० लाखसम्म रकम बुझाएर तस्करहरु उम्किने गरेको एक स्थानीयले दावी गरे।

कैलाली जिल्लाको कुल क्षेत्रफल ३ लाख २८ हजार ५ सय ५२ हेक्टरमध्ये २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र रहेको छ। जसमध्ये आवादी तथा खेतीयोग्य जमिन ९८ हजार हेक्टर छ।


 

More form the Internet

loading...