वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र असम्भवः काठमाडाैं मेयर शाक्य
काठमाडौँ, २१ जेठ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र सम्भव नहुने हुँदा जनस्तरबाटै समान सहभागिताको आवश्यकता पर्ने बताएका छन् ।
विश्व वातावरण दिवस–२०१७ का अवसरमा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले जनस्तरकै सहभागितामा परिणाममुखी काम हुन सके मात्र वातावरण सफा हुने तर्फ व्यक्त गरे ।
सोही अवसरमा कामपाका उपप्रमुख हरिप्रभा खड्गीले धुलोबाट हुने समस्या न्यूनीकरण गर्नु नै पहिलो चुनौती रहेको औँल्याईन् ।
केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जथाभाबी फोहोर फ्याँक्नेलाई कानुनी दायरामा ल्याउने अभ्यासलाई कडा रुपमा पालना गरिनुपर्ने बताए । पूर्ववातावरणमन्त्री गणेश शाहले सर्वप्रथम सरसफाइका क्षेत्रमा काम गर्ने व्यक्ति स्वस्थ हुनुपर्नेमा जोड दिए ।