Suvadin, Home

खडेरीले घैंटा सुकेपछि खानेपानीको हाहाकार

लामो खडेरीले वर्षातमा घैंटामा संकलन गरिएको पानी सुकेपछि यहाँको एक विकट गाउँमा खानेपानीको हाहाकार भएको छ। नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेरपाटावासी घैंटामा भएको पानी पनि सकिएपछि झनै समस्यामा छन्।

फलेवास (पर्वत), चैत २५– लामो खडेरीले वर्षातमा घैंटामा संकलन गरिएको पानी सुकेपछि यहाँको एक विकट गाउँमा खानेपानीको हाहाकार भएको छ। नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेरपाटावासी घैंटामा भएको पानी पनि सकिएपछि झनै समस्यामा छन्।

उनीहरुले विगत एक दशकदेखि घैंटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए । वर्षातको समयमा संकलन गरेर राखेको पानी पिउन बाध्य उनीहरु त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन्।

एक दशकअघि फिनिडा र नेवा नामक संस्थाले गाउँका ७० घरमा खानेपानी संकलन गर्ने घैंटा निर्माण गरिदिएपछि स्थानीय बासिन्दालाई राहत मिलेको थियो । वर्षातको समयमा गाउँ नजिकै मूल उठ्ने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदको समयमा दुई घन्टा टाढा रहेको कुवामा गएर पानी पिउन बाध्य छन्।

बर्खायाममा संकलन गरेको पानी सकिएपछि खानेपानीको चर्को समस्या भएको स्थानीय रामचन्द्र भुसालले बताए। ‘खानेपानी नहुँदा पानीकै लागि दुई घन्टा टाढा जानुपर्ने समस्या छ, पानीको जोहो गर्दैमा दिन बित्छ । अन्य काम गर्न भ्याइँदैन,’ भुसालले गुनासो गरे।

संस्थाले जस्ताको छाना भएको घरमा ६ हजार लिटर बराबर र खरको छाना भएको घरमा चार हजार लिटर बराबरका घैंटा निर्माण गरिदिएको थियो। गाउँमा खानेपानी योजना निर्माण गरिदिन पटक पटक विभिन्न संस्थामा अनुरोध गरे पनि कुनै सुनुवाइ भएन। केही वर्षअघिसम्म भोक्सिङदेखि ल्याएको खानेपानी योजना मर्मतसम्भारको नहुँदा जीर्ण बनेपछि गाउँलेले पानीको समस्या भोग्नुपरेकोे अर्का स्थानीय नरबहादुर थापाले बताए।

बस्तीभन्दा केही तल सानासाना मूल र खोला भएकाले लिफ्टिङ सिस्टमबाट पानी ल्याउन विभिन्न निकायसँग मागसमेत गरे पनि अझसम्म सुनुवाई भएको छैन। सदरमुकामदेखि टाढाको दूरीमा रहेको गाविस भएकाले जिल्लाले समेत उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ। वर्षौंदेखि खानेपानीको अभाव खेप्दै आए पनि कुनै निकायले चासो नदेखाएको स्थानीयबासी लालश्री थापाले बताए। रासस 


 

More form the Internet

loading...