Suvadin, Home

कुलेखानी तेस्रोबाट विद्युत्को उत्पादन सुरु

मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण सुरु गरेको छ ।

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण सुरु गरेको छ ।
     
सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौंस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले आज जनाएको छ ।
 
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्तरुपमा चार अर्ब ६३ करोडको अनुदानमा करीब १२ वर्षअघि सो आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो ।
 
उक्त आयोजनाबाट उत्पादित विद्युत् अब नियमितरुपमा उत्पादन भइरहने सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युत्लाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए । 
 
उनका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताए ।
 
भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका– १ सानुटारस्थित विद्युत्गृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको सो आयोजनाले जनाएको छ । 
 
केही हप्ताअघिदेखि सानुटारस्थित विद्युत्गृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकको भनाइ छ । 


 

More form the Internet

loading...