Suvadin, Home

रसुवागढीको सुख्खा पहिरोमा फसेका १७ जनाको सकुशल उद्धार 

काठमाडौं । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमार्गमा सुख्खा पहिरो खस्दा फसेका १७ जना मजदुरको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुख्खा पहिरो खस्दा ११ नेपाली र ६ चिनियाँ मजदुर  सुरुङभित्र फसेका थिए । 

नेपाल-चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ । पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका थिए । माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न नसकिएको आयोजना प्रमुख छवि गैरेले बताएका थिए । 

रसुवागढी जलविद्युत् आयोजनाको सुरुवातमै ०७२ वैशाखमा भूकम्प जाँदा पहिरोले एकजनाको ज्यान गएको थियो । भूकम्पले आत्तिएर चीन गएका ठेकेदारलाई फर्काउन लामो समय लागेको थियो । चीनको सिडब्लुई कम्पनीले यो आयोजनाको निर्माण गरिरहेको छ । 

साँझ साढे ८ बजे सुक्खा पहिरो गयो । माथिबाट झरेको चट्टान र माटोले सुरुङको मुख थुनिएको छ । त्यतिन्जेलसम्म रात्रि सिफ्टका मजदुरहरू भित्र गइसकेका थिए । पहिरो गएपछि अरू सुरुङका मजदुर सकुशल बाहिर निस्किएका थिए । तर, अडिट–४ का मजदुर भित्रै थुनिएका थिए । 


 

More form the Internet

loading...