Suvadin, Home

जासुस जर्नेललाई आजीवन जेल, दुईलाई मृत्युदण्ड

इस्लामावाद । पाकिस्तानको सैन्य अदालतले जासुसी गरेको ठहर गर्दै एक वरिष्ठ सैन्य अधिकारीलाई आजीवन कारावासको सजाय सुनाएको छ भने एक जना सैनिक अधिकारीलाई मृत्युदण्डको सजाय दिइने भएको छ । सोही आरोपमा एक निजामती कर्मचारीले पनि मृत्युदण्ड पाउनेछन् ।

ती तीन जनाविरुद्ध विदेशी निकायका लागि जासुसी गरेको र संवेदनशील सूचना चुहाएको पाकिस्तानी सेनाले आरोप लगाइएको थियो । सेनाका अनुसार सेनाप्रमुख जनरल कमार जावेद बाज्वाले सैन्य अदातलको आदेशलाई अनुमोदन गरेका छन् ।

सेनाले उनीहरूले कसका लागि जासुसी गरेका थिए र कस्तो सूचना उपलब्ध गराएका थिए भन्ने विषयमा केही खुलाएको छैन । तर धेरै अमेरिकी गुप्तचर निकाय सीआईएका जासुसी गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिका र पाकिस्तानबीच लामो सैन्य सहकार्यको इतिहास रहेकोले सैन्य अधिकारीहरू वारम्बार सम्पर्कमा हुने गर्छन् । आजीवन कारबासको सजाय पाएका अवकाश प्राप्त लेफ्टिनेन्ट जर्नेल जावेद इक्बालले १४ वर्ष कारागारमा बिताउनुपर्नेछ ।

सेनामा उच्च पद धारण गरेको व्यक्ति जासुसीको आरोपमा दोषी ठहर भएको पाकिस्तानमा यो दुर्लभ घटना भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इक्बालले सेवामा हुँदा महत्वपूर्ण ओहोदा र स्थानमा बसेर काम गरेका थिए । देश तथा विदेशमा गरिने सबै खाले सैन्य अभियानको योजना निर्माण तथा कार्यान्वयन विभागका प्रमुखका रुपमा काम गरेका उनले सेनाको अनुशासन तथा उत्तरदायित्व हेर्ने विभागमा पनि काम गरेका थिए ।

अर्का अवकाशप्राप्त सैन्य अधिकारी ब्रिगेडियर राजा रिज्वान र चिकित्सक वसिम अक्रमलाई भने जासुसीको आरोपमा मृत्युदण्ड सुनाइएको छ ।

अक्रमले संवेनशील संस्थामा काम गरेको भनिए पनि नाम खुलाइएको छैन । पाकिस्तानमा छुट्टै सैन्य न्यायप्रणाली छ । उनीहरुले सजायका विरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।


 

More form the Internet

loading...