Suvadin, Home

Cover Image

अमेरिकामा लकडाउनविरुद्ध गोलीगठ्ठासहित प्रदर्शन

मिसिगन । अमेरिका कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । अझै पनि संक्रमण र मृत्यु हुनेको संख्या दैनिक रुपमा केही हजारको संख्यामा थपिइरहेका छन् ।

तर पनि अमेरिकाका विभिन्न क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन खुलाउन माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

यस्तो प्रदर्शनले बिहीबार उग्ररुप लिएको छ । मिसिगन राज्यमा लकडाउनको विपक्षमा रहेको प्रदर्शनकारीहरु गोलीगठ्ठासहित प्रदर्शनमा उत्रिएका हुन् ।

बन्दुकसहित प्रदर्शनमा उत्रिएका उनीहरु मिसिगनको राजधानीमा रहेको राज्यको संसद प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सयौँ प्रदर्शनकारी मध्ये केहीले बन्दुक बोकेका थिए । लानसिंगमा जम्मा भएका उनीहरु मध्ये धेरैले मास्क लगाएका थिएनन् ।

प्रदर्शनकारीले भवनमा प्रवेश गर्न पाउनु पर्ने भन्दै हुलहुज्जत गरेपछि प्रहरीले केहीको ज्वरो नापेर प्रवेश अनुमति दिएका थिए । प्रदर्शनकारी होहल्ला गर्दै भवनमा प्रवेश गर्दा राज्यका सांसदहरु छलफलमा थिए ।

मिसिगनकी गभर्नर ग्रेट्चन व्हिटमरले मे १५ सम्मका लागि राज्यमा लकडाउन लागु गरेकी छन् । उनी डेमोक्र्याट हुन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य मध्यमा पर्छ मिसिगन । त्यहाँ अहिलेसम्म कोभिड १९ बाट ३७ सय ८८ जना भन्दा बढीको मृत्यु भइरहेको छ । राज्यमा ४१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अधिकांश डिट्रोइट महानगर क्षेत्रका छन् ।

मिसिगन युनाइटेड फर लिबर्टीको आयोजनामा बिहीबार अमेरिकन प्याट्रिओट र्ंयाली भएको हो । उनीहरुले राज्यको निर्देशन विपरित मे १ देखि व्यवसाय सञ्चालन गर्न अपिल गरेका छन् ।


 

More form the Internet

loading...