न त नेपाल फर्किन सके, न त कमाउन नै सके !
दुर्घटनामा परेका नेपाली युवाको युएईमा बिचल्ली
रुपेश अधिकारी, युएई, साउन ३२ – झापा बिर्तामोड नगरपालिकास्थित माता मन्दिर निबासी लोकेश खतिवडा युएईमा कष्टकर जीवन बिताई रहेका छन्। सात वर्षअघि उनका भिनाजुको सहयोगमा युएई आएका लोकेशले विदेशमा राम्रै पैसा कमाउने सपना बोकेका थिए।
तर, सवारी दुर्घटनामा परी दाहिने खुट्टा तीन ठाँउमा भाँचिएपछि उनी लामो समयसम्म थला परे। आबुधाबी अस्पतालमा उनलाई ४५ दिन राखियो। त्यसपछि उनलाई कम्पनीको क्याम्पमा राखियो।
परदेशमा सबै आ–आफ्नै काममा व्यस्त। उनको रेखदेख गर्ने कोही थिएनन्। बिहान–बेलुका एक जना साथीले उठाउने बसाउने गर्थे। तर, दिसापिसाव लाग्दा उनलाई ठुलै समस्या पथ्र्यो। दाहिने खुट्टाको मुख्य ठाउँ भाँचिएपछि सीधा उभिएर हिड्न नसकेको चार वर्ष भयो लोकेशले।
उनी आबुधाबीमा ट्रक चलाउँथे। एकदिन कम्पनीको सामान लिएर काममा जाँदै गर्दा गाडी अनियन्त्रित भएर दुर्घट्ना भयो। उनले चलाएको गाडीमा एक भारतीय र अर्का पाकिस्तानी साथी पनि थिए। दुर्घटनामा परी भारतीय नागरिकको उपचारको क्रममा ज्यान गयो। अर्का भने घाइते भए।
घाइते पाकिस्तानी साथी उपचार पछि काममा फर्किए। मृतकका भारतीय साथीका परिवारले युएईको अदालतमा लोकेशविरुद्ध ज्यान उद्योगको मुद्दा लगाएपछि अहिले उनी त्यही मुद्दाका कारण कैदी सरहको जीवन बिताइरहेका छन्।
अदालतमा मुद्दा चलिरहेको छ। मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरुप बिमा कम्पनी र लोकेशले चार लाख दिर्हाम अर्थात नेपाली झण्डै एक करोड १५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ। तर, लोकेशको कमाईले त्यतिका रकम तिर्ने अवस्था छैन। अहिले त्यही कारणले लोकेश अप्ठेरोमा परेका छन्।
आबुधाबीको मुसाफा भन्ने ठाँउमा रहेको डेसर्ट म्यान कार्गो क्लियरिङ्ग एन्ड फरवार्डिङ कम्पनीमा उनी रातभरि चौकीदारी गर्छन्। समस्या पर्दा युएईमा रहेका विभिन्न संघसंस्थाले उनलाई सहयोग गरिरहेका छन्।
विशेषतः झापाली समाज युएईले उनको मुद्दा चाँडै फैसला गर्न नेपाली दूतावास युएईलाई घच्घचाँई रहेको छ। तर, अदालतमा मुद्दा चलिरहेकाले त्यसको फैसला नआएसम्म आफूहरुले केही गर्न नसक्ने दूताबासको भनाई रहेको उनको मुद्दालाई नजिकबाट नियाली रहेका पत्रकार डिल्ली हुमागाईंले बताए।
उनले भने, ‘लोकेशको मुद्दाको चाँडै किनारा लगाएर उनलाई नेपाल फर्काउन हामी लागिपरेका छौँ, तर अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले चाहेर पनि केही हुन सकिरहेको छैन।’
मृतकका परिवारलाई कानुन अनुसार ब्लडमनि तिरेर उन्मुक्ति त पाइन्छ। तर, अदालतको निर्णय पर्खिनु बाहेक अरु कुनै विकल्प रहनेको उनले बताए। त्यही मुद्दाका कारण लोकेश दिन रात छटपटाई रहेका छन् ।
न्यायसँगै उनलाई पीर छ, शरीर काम नलाग्ने भएपछि परिवार कसरी पाल्ने भन्ने। कुनैबेला आफूसँग औषधि खाने समेत पैसा नहुने पीडा पोख्दै भने, ‘यतिका पैसा म बाचुञ्जेल तिर्न सक्दिन।’ यति मात्रै होइन, उनलाई अहिले कम्पनीले भिसा क्यान्सिल गरेर अवैधानिक बनाएको छ।
सवारी दुर्घटनामा परेर लामो समयसम्म काम गर्न नसकेपछि कम्पनीले उनको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरेर नेपाल जान्छु भन्दा कम्पनीले उल्टै पीडा दिएको उनले बताए। उनको भिषा २ वर्षअघि नै सकिएको छ।
त्यही कम्पनीमा चौकीदारको काम गरिरहेका लोकेश कम्पनीले दिएको केही तलब र साथीहरुको सहयागले जीवन गुजारिरहेका छन्। ‘मलाई जसरी पनि नेपाल पठाइदिनु पर्यो,’ उनले गहँभरि आँसु बनाउँदै भने। उनको मुद्दाको फैसला सेप्टेम्बर १८ तारिकमा हुने युएईका लागि नेपाली राजदूत नेत्रबहादुर टण्डनले बताएका छन्।