Suvadin, Home

प्रचण्डको विज्ञप्ति, मडुरोका छोराको नेपाल भ्रमण र भारतीय नाकबन्दीप्रति चासो 

काठमाडौं । भेनेजुएलामा गत वर्ष भएको निर्वाचनमा निकोलस मडुरो राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले मान्यता दिएन । समानान्तर राष्ट्रपतिको रुपमा हुवा गुइदोलाई अमेरिकाले अगाडि सार्‍यो । यही विवादका कारण भेनेजुएलामा राजनीतिक संकट चुलियो । यसलाई लिएर शक्तिराष्ट्रहरूसमेत विभाजित भए । सोही सन्दर्भमा कम्युनिस्ट पार्टीको सम्बन्धका हिसाबले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकोलस माडुरोको पक्षमा नेपालमा विज्ञप्ति जारी गरे । प्रचण्डको विज्ञप्तिप्रति अमेरिकाले आपत्ति जनायो । 

अमेरिकालाई साम्राज्यवादी भएको टिप्पणी गर्दै सत्तारूढ पार्टीको अध्यक्षले विज्ञप्ति जारी गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमै चिसोपन आउने अवस्था सिर्जना भयो । अध्यक्ष दाहालको वक्तव्य अनपुयुक्त भएको भन्दै पछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई केही सच्याउने खालको ‘सफ्ट’ वक्तव्य जारी गरे । चिसिएको सम्बन्ध विस्तारै सकारात्मक बाटोतिर लाग्यो । 

अहिले फेरि तिनै मडुरोका छोरा तथा विशेष सैनिक फौजका प्रमुखसमेत रहेका निकोलस अर्नेस्टो मडुरो गुयरा नेपाल भ्रमणमा छन् । शनिबार नेपाल आएका उनको विषयमा सोमबारमात्रै खुल्यो । १५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आएका उनी सत्तारुढ दलका शिर्ष नेताहरुसँग भेटघाटमा व्यस्त छन् । टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग आइतबार र सोमबार भेटघाट गरेको छ ।

कर्प्स अफ स्पेसल इन्स्पेक्टर्स अफ द प्रेसिडेन्सी नामको सैन्य संगठनको नेतृत्वमा रहेका गुयराले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं सुपरिवेक्षण गर्छन् । पार्टीमा विशेष भूमिकामा रहेका उनी सांसदसमेत हुन् । युवा संगठनहरूको आपसी सम्पर्कबाट उनी नेतृत्वको टोली नेपाल आएको बताइएको छ । युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले युवा आदानप्रदान कार्यक्रमअन्तर्गत भेनेजुएलाको टोली आएको बताएका हुन् । सापकोटाले नै नेताहरूसँग भेटघाटको समन्वय र सम्पर्क नै गरिरहेका छन् ।

नेपाल भ्रमणमा रहेको टोलीले नेताहरूसँग भेटघाट गरेर चार वर्षअघि भारतले लगाएको नाकाबन्दीका बेला खाद्यान्न र आत्मनिर्भरताका लागि चालिएका कदमबारे जिज्ञासा राखेको छ । भेनेजुएलाको टोलीसँग भएको भेटवार्तामा नाकाबन्दीलगायत विषयमा अनुभव आदानप्रदान भएको नेताहरूले बताएका छन् । अमेरिका लगायतको नाकाबन्दीमा आफ्नो मुलुक परिसकेको उल्लेख गर्दै उनीहरू नेपालको अनुभव काम लाग्‍ने भन्दै यहाँका नेताहरूसँग जिज्ञासा राखेका थिए । ‘उहाँहरू घुम्न नेपाल आउनुभएको रहेछ । त्यसक्रममा नेताहरूसँग भेट भएको हो । उहाँहरूले नाकाबन्दीका बेला झेलेका समस्या चासो राख्नुभयो,’ आइतबारको भेटमा संलग्न एक जना नेकपा नेताले भने, ‘भेनेजुएलाको अर्थतन्त्र कसरी सम्पन्न हुन सक्छ भन्ने विषयमा पनि कुरा भयो ।’

यस विषयलाई अमेरिकाले गम्भीरतापूर्वक नियालीरहेको छ । प्रचण्डको विज्ञप्तिबाटै तर्सिएको अमेरिका मडुरोको छोराको नेपाल भ्रमणका विषयमा चासो दिएको छ । 


 

More form the Internet

loading...